काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले लिइरहेको वैदेशिक ऋणको पारदर्शितामाथि प्रश्न उठाएका छन् । दिगो पूर्वाधार विकासका लागि ऋण लिनु नेपालको बाध्यता र आवश्यकता दुवै भएको उल्लेख गर्दै उनले वर्तमान सरकारको नियतमाथि प्रश्न गरेका हुन् ।
महासचिव पोखरेलले विगतमा विदेशी ऋणले देश डुबायो भन्दै आलोचना गर्नेहरू नै अहिले सत्तामा पुगेपछि ठूलो मात्रामा ऋण लिइरहेको टिप्पणी गरे । “हिजो विदेशी ऋणले देश डुबायो भनेर पूर्ववर्ती सरकारको आलोचना गर्नेहरू नै आज सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता संसद्मा स्पष्ट रूपमा प्रस्तुत नगरी ठूलो मात्रामा ऋण लिइरहेका छन्,” उनले फेसबुकमा लेखेका छन्, “यस्तो अवस्थामा स्वाभाविक रूपमा प्रश्न उठ्छ- हिजो विरोध किन ? आज स्वीकार किन ?”
सरकारले लिने ऋणको उपयोगिता र त्यसको प्राथमिकताका विषयमा जनतालाई स्पष्ट पार्नुपर्ने पोखरेलको माग छ । उनले सरकारले संसद् र जनताप्रति उत्तरदायी भएर पारदर्शी जवाफ दिनु आवश्यक रहेको बताएका छन् । बिनाकुनै ठोस योजना र प्राथमिकता ऋण थप्दै जाँदा त्यसले दीर्घकालीन रूपमा मुलुकलाई पार्न सक्ने प्रभावबारे उनले सचेत गराएका छन् ।
प्रतिक्रिया