×

पार्टीलाई एकजुट बनाएर अगाडि बढ्नुको विकल्प छैन : वरिष्ठ नेता पौडेल

images

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाएर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । नेपाली कांग्रेस बन्दीपुर गाउँसमितिले आज डुम्रेमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले स्थानीय तह निर्वाचन नजिकिँदै गइरहेकाले पार्टीलाई सशक्त र एकजुट बनाउनुपर्नेमा जोड दिनुभयो । 

 “कांग्रेस एकजुट भए मात्रै विपक्षीसँग प्रतिस्पर्धा गर्न सक्छौँ, पार्टीभित्र भएका असमझदारीलाई हटाउँदै एकता कायम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “एकता नै नभए विपक्षीसँग प्रतिस्पर्धा गर्न सक्दैनौँ ।” वरिष्ठ नेता पौडेलले जनताको सेवालाई मूल धर्म सम्झिएर कार्यकर्ता गाउँगाउँ पुगेर कांग्रेसको प्रचार गर्नुपर्ने बताउनुभयो । 

वरिष्ठ नेता पौडेलले अहिले रहेको चार दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । समावेशी संविधानका लागि एउटै पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गरेर जाँदा कांग्रेसलाई नै फाइदा पुग्ने धारणा व्यक्त गर्नुभयो । “संविधान रक्षाका लागि पहिला गठबन्धन गरेका हौँ, अब पनि गठबन्धनलाई निरन्तरता दिनुपर्छ”, उहाँले भन्नुभयो । कांग्रेस जहाँ जहाँ कमजोर छ त्यहाँ गठबन्धन गर्दा कांग्रेसलाई नै फाइदा पुग्ने उहाँको भनाइ थियो । 

वरिष्ठ नेता पौडेलले एमसिसीका बारेमा जनतामा फैलाइएको भ्रम चिर्न आवश्यक रहेको बताउनुभयो । एमसिसी नेपालको गरिबी निवारणका लागि उपयोगी हुने उहाँको भनाइ थियो । उहाँ आजै देवघाट गाउँपालिका–३ का वडाध्यक्ष स्व कीर्तिमान आलेको शोकसभामा सहभागी हुनुभएको थियो । वडाध्यक्ष आलेको भिरबाट खसेर मृत्यु भएको थियो । 

वरिष्ठ नेता पौडेल बन्दीपुरको झारगाउँमा आयोजित कार्यक्रममा पनि सहभागी हुनुभएको थियो । साथै उहाँले व्यास नगरपालिका–४ मा आइतबार आगलागीबाट क्षति भएको स्थलको निरीक्षण गर्दै पीडित परिवारलाई सान्त्वना दिनुभएको छ ।

सोमबार २३ फागुन २०७८ १०:३० PM मा प्रकाशित

प्रतिक्रिया