नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उम्मेदवार मनोनयन भएको मितिदेखि नै संसद्को कार्यकाल सकिने गरी कानुनी व्यवस्था गर्न उपयुक्त हुने बताउनुभएको छ ।
मङ्गलवार प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै महामन्त्री थापाले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने भन्दा पनि चुनावका लागि उम्मेदवार मनोनयन गरेपछि सांसद पद नरहने गरी आवश्यक व्यवस्था गर्न उपयुक्त हुने धारणा राख्नुभएको हो । उहाँले पछिल्ला केही समययता आएर सांसदहरू एक/दुई महिनाको पारिश्रमिकका लागि मरिहत्ते गर्छन् भन्ने सन्देश बाहिर गएको उल्लेख गर्दै संसदलाई नै दाग लगाउने त्यस्ता खालका सन्देश प्रवाह हुन नदिन सत्तापक्ष र प्रतिपक्ष एक ठाउँ उभिनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।
महामन्त्री थापाले भन्नुभयो, ‘प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालको विषयमा संसदभित्र र संसदबाहिर पनि चासाको विषय बन्यो । हामीले समयको ख्याल गर्नुपर्छ भन्ने कुराको यो प्रमाण हो । हामीले संविधानका जुन खालको व्यवस्था गरेको छौँ– तीन तहको सरकार, संसद्, त्यसको चुनाव अवधिहरू तोकेका छौँ । त्यसको कार्यकालको सन्दर्भमा ऐनबाट हामीले स्पष्ट व्यवस्था गर्नुपर्नेछ । त्यो काम हामीले समयमै गर्न चुक्दा यो खालको स्थिति सिर्जना भएको छ । एक/दुई महिनाको तलबका लागि सांसदहरू मरिहत्ते गरिरहेका भन्ने ढङ्गबाट बाहिर बुझिएको छ, बुझाइएको छ । संसद्को प्रतिष्ठाका लागि हामी एक ठाउँ उभिनुपर्छ । हामी उभिएनौँ भनेदेखि त्यसको दाग हामी सबैलाई लाग्छ ।’
महामन्त्री थापाले मतपरिणाम घोषणा भएको अन्तिम दिनदेखि आधार मानी प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल तोक्नुपर्ने पनि बताउनुभयो ।
प्रतिक्रिया