×

पूर्णबहादुरको ब्रिफिङ– "शेखर दाइ र मलाई वरिष्ठ नेता बनाउने प्रस्ताव मैले गेटमै अस्वीकार गरिदिएँ"

images

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र विवाद समाधानका लागि भइरहेका प्रयासहरूका बीच संस्थापन इतर समूहको महत्त्वपूर्ण बैठक सम्पन्न भएको छ। बैठकमा इतर समूहका नेता पूर्णबहादुर खड्काले पार्टीभित्र भइरहेका पछिल्ला संवाद, विवादित सातबुँदे प्रस्ताव र केन्द्रीय कार्यसमितिमा समायोजनका विषयमा विस्तृत ब्रिफिङ गरेका छन्।

बैठकमा आफ्ना भनाइहरू राख्ने क्रममा नेता खड्काले उपसभापति विश्वप्रकाश शर्माले आफूलाई 'वरिष्ठ नेता' बनाउन राखेको प्रस्ताव अस्वीकार गरेको खुलासा गरे।

"बैठकको गेटबाट बाहिरिने क्रममा विश्वप्रकाश शर्माजीले हाम्रो एउटा सहमति भइसकेको छ, तपाईं र शेखर दाइ (डा. शेखर कोइराला) लाई वरिष्ठ नेता बनाउने भन्नुभएको थियो," खड्काले बैठकमा नेताहरूलाई सुनाए, "तर मैले उक्त प्रस्तावलाई तत्कालै अस्वीकार गरिदिएँ।"

नेता खड्काका अनुसार पार्टीभित्र सहमतिका लागि भन्दै उपसभापति विश्वप्रकाश शर्माले ह्वाट्सएप (WhatsApp) मार्फत सातबुँदे प्रस्ताव पठाएका थिए। उक्त प्रस्तावको लिखित जवाफ आफूले तयार पारेर शर्मालाई बुझाइसकेको उनले जानकारी दिए।

सुरुमा शर्माले लिखित रूपमा नै जवाफ माग गरेपछि आफूले "जसरी हामीलाई ह्वाट्सएपमा प्रस्ताव पठाउनुभएको थियो, त्यसैगरी टाइप गर्नुस्" भन्दै जवाफ पढेर सुनाएको खड्काले बताए। जवाफ सुनेपछि शर्माले "यही नै अन्तिम हो दाइ?" भनी सोधेको र आफूले पनि "हो" भनी प्रष्ट पारेको उनले बैठकमा उल्लेख गरे।

खड्काले इतर समूहमा अहिले डा. शेखर कोइरालासहित १११ जना नेताहरू रहेको र ती सबैलाई केन्द्रीय कार्यसमितिमा ससम्मान समायोजन गरिनुपर्ने प्रस्ताव संस्थापन पक्षसँग राखिएको बताए।

संवाद चलिरहेकै समयमा महामन्त्री प्रदीप पौडेललाई उद्धृत गर्दै ‘शीर्ष नेताको सदस्यता स्वतः अद्यावधिक हुने’ समाचार सार्वजनिक भएपछि देशभरका कार्यकर्ताबाट असन्तुष्टिका फोन आएको उनले सुनाए। "आफ्नो सदस्यता अद्यावधिक हुने, तर दुःख गरेका कार्यकर्ताको नहुने भन्ने गुनासो आएपछि मैले सामाजिक सञ्जालमार्फत त्यसको खण्डन गरेँ, अनि मात्र फोन आउन बन्द भयो," खड्काले थपे।

नेता खड्काले यो आफ्नो बचाउ वा स्पष्टीकरण नभई इतर समूहका सहयात्रीहरूलाई वस्तुस्थिति बुझाउनका लागि गरिएको जानकारी मात्र भएको प्रष्ट पारे। उनले अनलाइन सञ्चारमाध्यमहरूमा आएका समाचार र वास्तविकताका विषयमा सबैलाई प्रष्ट पार्न यो बैठक डाकिएको बताए।

कांग्रेस इतर समूहले अब यी विषयहरूमा थप गम्भीर छलफल गर्ने र बढीमा दुई-तीन दिनभित्र निष्कर्षमा पुग्ने रणनीति बनाएको छ। साथै, आगामी साउन ६ गते बीपी कोइराला जयन्तीको अवसरमा विशेष कार्यक्रम आयोजना गरी देशव्यापी रूपमा मनाउने निर्णय समेत बैठकले गरेको छ।

सोमबार २२ असार २०८३ ०४:३२ PM मा प्रकाशित

प्रतिक्रिया