×

डोटीका २५० उम्मेदवारले मात्रै बुुझाए निर्वाचन खर्च विवरण

images

गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका यहाँका २५० उम्मेदवारले मात्रै आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन् । उम्मेदवारी दिएकामध्ये ७६ प्रतिशत उम्मेदवारले अझै पनि आफ्नो निर्वाचनमा भएको खर्च विवरण बुझाएका छैनन् । 

निर्वाचन आयोग ऐन २०७३ परिच्छेद–५ को दफा २५ मा निर्वाचन सम्पन्न भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्चको बिल र भरपाईसहित तोकिएको ढाँचामा आयोगले तोकेको कार्यालयमा निर्वाचन खर्च विवरण बुुझाउनुुपर्ने कानुनी व्यवस्था छ ।

 जिल्ला निर्वाचन कार्यालयका अनुसार डोटीमा ३४३ पदका लागि एक हजार ५० जनाले उम्मेदवारी दर्ता गराएका थिए । तीमध्ये हालसम्म जम्मा २५ प्रतिशतले मात्रै आफ्नो निर्वाचन खर्च विवरण बुुझाएका छन् । जिल्लामा नौवटा स्थानीय तहसहित जम्मा ६५ वडा रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका सूूचना अधिकारी दलबहादुर मलासीका अनुसार स्थानीय तह निर्वाचनमा जिल्लाका विभिन्न स्थानीय तहबाट एक हजार ५० उम्मेदवारले आफ्नो उम्मेदवारीका लागि मनोनयन पत्र दर्ता गराउनुभएको थियो । तीमध्ये हालसम्म करिब २५० जनाले मात्रै निर्वाचन खर्च विवरण बुुझाउनु भएको सूचना अधिकारी मलासीले बताउनुभयो ।

 जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार नौ स्थानीय तहमध्ये जोरायल र बडिकेदार गाउँपालिकाका कुनै पनि उम्मेदवारहरुले निर्वाचन खर्चको विवरण बुुझाएका छैनन् । अन्य स्थानीय तहका उम्मेदवारहरुमध्ये पनि अधिकांश उम्मेदवारहरुले निर्वाचन खर्च विवरण नबुुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

 सबै उम्मेदवारहरुलाई स्थानीय तहमार्फत निर्वाचन खर्च विवरण बुुझाउन ताकेता गर्दा नबुुझाएपछि हालसम्म प्राप्त विवरण निर्वाचन आयोगमा पठाइने तयारी भएको जिल्ला निर्वाचन अधिकारी करुणाकर पाण्डेयले बताउनुुभयो । यसैबीच निर्वाचन आयोगले एक प्रेस विज्ञप्ति प्रकाशित गरी सबै जिल्ला निर्वाचन कार्यालयलाई उम्मेदवारले खर्च विवरण बुुझाए नबुुझाएको यकिन गरी आवश्यक कारबाहीका लागि आयोगमा सिफारिससहित लेखी पठाउन निर्देशन जारी गरेको छ ।

बुधबार २२ असार २०७९ ०१:०६ PM मा प्रकाशित

प्रतिक्रिया