उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा लफडा सुरु भएको छ । पार्टीभित्र मन्त्री हेरफेर गर्ने तयारीका बीच आकाङ्क्षीहरू बढ्दै गर्दा आधा दर्जन नेता तथा सांसदहरूले छुट्टै भेला आयोजना गरेका छन् ।
अध्यक्ष उपेन्द्र यादवलाई आफूहरूमध्येबाट मन्त्री बनाउन दबाब दिने उद्देश्यका साथ पार्टीका आधा दर्जन सांसदहरूले छुट्टै भेला गरेका हुन् । यसरी भेला गर्नेमा जसपाका प्रभावशाली नेता इस्तियाक राईसहितका नेताहरू रहेका छन् ।
स्रोतका अनुसार राईसहित मिर्गेन्द नारायण यादव, रामबाबु कुमार यादव, प्रमोद यादव, डा सूर्य नारायण यादव, प्रमिला यादवलगायतको टीम रहेको छ । उनीहरू सोमबार छलफलमा बस्न लागेको स्रोतका भनाइ छ ।
राजधानीको एक होटलमा छलफलका लागि खबर आएको भन्दै एक नेताले छलफलबाट मन्त्री बनाउनका लागि अध्यक्ष उपेन्द्र यादवलाई दबाब दिइने बताए । उल्लेखित नेता तथा सांसदहरू यसअघि पनि उपेन्द्र यादवले मन्त्री नबनाएको भन्दै बाबुराम भट्टराई पक्षतिर लागेका थिए ।
त्यतिबेला यादव पार्टीमा अल्पमतमा समेत परेका थिए । अहिले ती सबै मन्त्री बनाउन माग गर्दै मोर्चाबन्दीमा लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल हेरफेरको तयारी थालेका छन् ।
एकीकृत समाजवादीले हाल रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ सिफारिस गरेको छ भने जसपाले पनि मन्त्री हेरफेरको लागि छलफल थालेकै बेला पार्टीभित्र आन्तरिक समस्या देखिएको छ । यसो त देउवाले लोसपालाई समेत सरकारमा सहभागी गराउन खोजेपछि उपेन्द्रमा तनावको पारो तातेको छ ।
जसपामा सरकारमा सहभागिताको विषयमा खासै विवाद नहुने भए पनि मन्त्रीको विषयमा मारामार हुँदै आएको छ । सरकारमा सहभागिताको विषयलाई लिएर विगतमा मधेस केन्द्रीय पार्टीहरू विभाजित समेत बनेका थिए ।
प्रतिक्रिया