×

मेयर र अध्यक्षमा जम्मा ३८४ जना महिलाको उम्मेदवारी

images

 देशभरका सात सय ५३ पालिकामा हुने चुनावका लागि मेयर र अध्यक्षमा ६ हजार ३ सय ३० जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये मेयर र अध्यक्षमा तीन सय ८४ जना महिलाको उम्मेदवारी परेको छ ।

दुई सय ९३ नगरपालिकामा मेयरका लागि दुई सय २९ जना र चार सय ६० गाउँपालिकामा अध्यक्षका लागि एक सय ५५ जना महिला उम्मेदवार रहेका निर्वाचन आयोगको तथ्याङ्क छ । मेयरमा पुरुषको सङ्ख्या तीन हजार ९ रहेको छ भने अध्यक्षमा दुई हजार ९ सय ३७ रहेको छ ।

उम्मेदवार छनोट गर्दा दलहरुको प्राथमिकतामा पुरुष परेका छन् । महिलालाई उपेक्षा गरिएको तथ्याङ्कले देखाएको छ । नगरमा मेयर उम्मेदवारी दिने महिला जम्मा ७ प्रतिशत र गाउँपालिका अध्यक्षमा ५ प्रतिशत रहेको छ । उपमेयरमा महिलाको सङ्ख्या उल्लेख्य छ ।

उपमेयर र उपाध्यक्ष गरी चार हजार एक सय २७ उम्मेदवार रहेकोमा महिला तीन हजार ७७ जना रहेका छन् । देशभरका ६ हजार ७ सय ४३ वडाका अध्यक्षका लागि ३२ हजार ४ सय ९७ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये महिला ९ सय ४७ अर्थात तीन प्रतिशत मात्रै रहेका छन् । हरेक वडामा दुई जना खुला सदस्य रहन्छन् । 

त्यसमा ५३ हजार १ सय ७३ जना उम्मेदवार छन् । महिला दुई हजार ४ सय ७ र पुरुष ५० हजार ७ सय ६६ जना रहेका छन् । हरेक वडामा एक महिला र एक दलित महिला सदस्य अनिवार्य गरिएको छ । महिला सदस्य २५ हजार ५ सय ९६ जना र दलित महिला सदस्य २३ हजार २ सय ८४ जना रहेका निर्वाचन आयोगको तथ्याङ्क छ । 

शुक्रबार​ २३ बैशाख २०७९ ०१:१९ PM मा प्रकाशित

प्रतिक्रिया