×

चोलेन्द्रविरुद्धको महाभियोग अगाडि बढाउनेबारे कार्यव्यवस्थामा छलफल हुँदै

images

काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव अगाडि बढाउने विषयमा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा छलफल हुँदैछ ।

संसद भवन नयाँ बानेश्वरमा आइतवार बिहान साढे ११ बजेका लागि बोलाएको बैठकमा महाभियोग अगाडि बढाउने विषयमा छलफल हुने सचिवालय स्रोतले  जानकारी दियो । प्रतिनिधि सभामा दर्ता भएको महाभियोग प्रक्रियामा लैजानुपर्ने पार्टीको धारणा कार्यव्यवस्था बैठकमा राख्न लागिएको नेपाली कांग्रेसका एक सांसदले जानकारी दिए । 

पदीय आचरणअनुसार काम नगरेको र भ्रष्टाचार गरेको आरोप लगाउँदै सत्ता गठबन्धनमा आबद्ध दलले जबराविरुद्ध फागुन १ गते प्रतिनिधि सभामा महाभियोग प्रस्ताव दर्ता गरेका थिए । संसद सचिवालयमा दर्ता भएको एक हप्तापछि संसदमा महाभियोग प्रस्तावबारे छलफल गर्नुपर्ने भए पनि २२ दिन पुग्दासमेत छलफल हुन सकेको छैन । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीलाई कारण दर्शाउँदै महाभियोग अगाडि बढेको थिएन । एमालेको नाराबाजीका बीच अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी भने अनुमोदन भएको छ ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेश गर्ने उल्लेख छ । 

आइतबार​ २२ फागुन २०७८ १२:०८ PM मा प्रकाशित

प्रतिक्रिया