×

२८६० औं मु पुख्री (डुक) ल्होको अवसरमा तामाङ पर्यटन रिमठिम सञ्जालको 'शुभकामना आदान–प्रदान

images

काठमाडौं । तामाङ रिमठीम पर्यटन सञ्जालले हिजो एक समारोहका बिच सोनाम ल्होछार पर्व मनाएको छ । 

मञ्जुश्री सम्वत् २८६० औं मु पुख्री (डुक) ल्होको अवसरमा सञ्जालले सोमबार काठमाडौंको होटल मर्स्याङ्दीमा 'शुभकामना आदान–प्रदान कार्यक्रम' आयोजना गरी सोनाम ल्होछार मनाएको हो । सञ्जालकी अध्यक्ष पर्यटन व्यवसायी सरिता लामाको अध्यक्षता र संघीय सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा ल्होछार कार्यक्रम गरिएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संघीय सांसद तामाङले काठमाडौं वरिपरि तामाङ बस्तीमा पर्यटन क्षेत्र प्रवर्द्धन गर्न सञ्जालले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । नेपालमा देखिएको आर्थिक मन्दीलाई उकास्ने एउटा क्षेत्र पर्यटन भएको भन्नुहुँदै पूर्वमन्त्री तामाङले संस्थाले अघि सार्ने योजनामा आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो । 

विशेष अतिथि संघीय सांसद सूर्यमान दोङ रहनुभएको कार्यक्रममा वाग्मती प्रदेश सरकारका पूर्वमन्त्री निमा लामा, अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङलगायत पर्यटन क्षेत्र सम्बन्धित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको पनि उपस्थिति थियो । 

कार्यक्रममा डा मुक्तसिंह तामाङले तामाङ संस्कार, संस्कृति, आफ्नो समुदायबारे तामाङहरुले बुझ्नु पर्ने विषयमा प्रस्तुति दिनुभएको थियो । 

उपस्थित भएर कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि,आमन्त्रित महानुभावहरु, पत्रकारलगायत सबैलाई तामाङ पर्यटन रिमठिम सञ्जालकी अध्यक्ष लामाले आभार प्रकट गर्नुहुँदै आगामी दिनमा पनि सहयोग र सहभागिताको अपेक्षा व्यक्त गर्नुभयो । 

यस वर्ष तामाङको ल्होछारको मुख्य दिन माघ २७ गते परेको छ । 

मङ्गलबार २३ माघ २०८० ०३:४१ PM मा प्रकाशित

प्रतिक्रिया