×

२०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सौं- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

images

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गठबन्धन गर्दा लक्ष्मण रेखा पालना नगरिए दीर्घकालीन क्षति हुने भन्दै सजग गराएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्ति भएकोले त्यस्ता शक्तिहरूसँग घाँटी जोड्दा व्यवस्था नै धरापमा पर्न सक्ने भट्टराईको भनाइ छ।

‘गठबन्धन गर्दा एउटा लक्ष्मणरेखा पालना गरिएन भने ठूलो दीर्घकालीन क्षति हुन सक्छ,’ ट्वीट गर्दै भट्टराईले भनेका छन्, ‘सरकारको अंकगणितका निम्ति संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिसँग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्छ।’यस्तो अवस्थामा भट्टराईले राप्रपा बोक्दा दुष्परिणाम निम्तन सक्ने उल्लेख गरेका छन्।

‘२०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सौं,’ उनले भनेका छन्। भट्टराईको पार्टी नेपाल समाजवादी गत मंसिरको चुनावमा माओवादीकै चुनाव चिन्ह लिई चुनावमा गएको थियो। नेपाल समाजवादी र माओवादीबीच एकता गर्ने तयारीसमेत भइरहेको छ। प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद छन्। गत पुस १० मा संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रचण्ड दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए।

त्यसबेला उनलाई तीन स्वत्नत्र सांसदसमेत गरी १६९ जनाको समर्थन देखिन्थ्यो। राप्रपाले सरकारलाई विश्वासको मत दिन र सरकारमा सहभागी हुन सर्त राखिरहेका बेला भट्टराईले भने यस्ता शक्तिसँग घाँटी जोड्दा व्यवस्था नै धरापमा पर्ने बताएका हुन्।

शुक्रबार​ २२ पुस २०७९ १२:४६ PM मा प्रकाशित

प्रतिक्रिया