राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरूले बजेट निर्माणको क्रममा अनियमितता भएको विषयमा अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न माग गरेका छन् ।
योजना आयोगका सात जना पूर्वउपाध्यक्षहरू पृथ्वीराज लिगल, डा. जगदीशचन्द्र पोखरेल, डा. युवराज खतिवडा, डा. दिनेशचन्द्र देवकोटा, डा. गोविन्दराज पोखरेल र डा. पुष्प कँडेलले संयुक्त विज्ञप्ति निकालेर बिग्रँदाे अर्थतन्त्रलाई सुधार गर्नुको साटो बजेट निर्माणमै खेलबाड गर्नु गम्भीर धोका भएको भन्दै छानबिन गर्न माग गरेका हुन् । सङ्कटोन्मुख परिस्थितिको सामना गर्न सरकार खास योजनाका साथ अघि बढ्न नसकेको ठहर गर्दै पूर्वउपाध्यक्षहरूले बजेट निर्माणमा अनुशासनहीन क्रियाकलाप भएको लगायतका घट्नाक्रमले नेपालको अर्थतन्त्र झनै समस्यामा थप्ने विज्ञप्तिमा उल्लेख छ ।
‘नागरिकको पसिनाबाट उठेको करको दुरुपयोग भएको, मूल्यवृद्धि र जनजीविकाका सवालमा सरकारले सम्बोधन गर्न नसकेको र सरकारले कुशासनलाई नै टेवा पुग्ने काम गरिरहेकाले थप आर्थिक जटिलताको सङ्केत गरिरहेको अवस्थामा योजनाका साथ अघि बढ्न अनुरोध गर्दै बजेट निर्माणमा उठेका प्रश्नहरूमाथि यथोचित छानबिन गर्न मन्त्रिपरिषद्, संसद् र संवैधानिक निकायसमक्ष माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया