×

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने

images

काठमाडौं। जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको मुद्दामा आज फैसला हुने भएको छ । यसअघि पक्राउ गरेको कारण सरकारसँग मागेको अदालतले शुक्रबार नै सो जवाफ प्राप्त गरिसकेकोले बन्दी प्रत्यक्षीकरणको मुद्दामा आजै फैसला हुन सक्ने जनाइएको छ ।

जेन–जी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री र कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । उक्त आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले अध्यक्ष ओली र नेता लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो ।

सो सिफारिसका आधारमा पक्राउ पुर्जी जारी गरेर चैत १४ गते दुबैजनालाई पक्राउ गरिएको थियो । अदालतबाट पक्राउ पुर्जीको अनुमति नलिई प्रहरीले नै जरुरी पक्राउ पुर्जी जारी गरेर उनीहरुलाई निवासबाटै नियन्त्रणमा लिएको थियो । उक्त पक्राउ गैरकानूनी भनेर दुवै जनाले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गराएका थिए ।

भाग्न सक्ने वा प्रमाण नष्ट गर्न सक्ने अवस्थामा मात्रै जरुरी पक्राउ पुर्जी जारी गर्नु पर्ने कानुनी व्यवस्था विपरीत पक्राउ गरिएको र प्रतिवेदन मात्रैका आधारमा नियन्त्रणमा लिने तर्क गर्दै उनीहरुको पक्षबाट पक्राउ परेको भोलीपल्ट (आइतबार) बन्दीप्रत्यक्षीकरण निवेदन परेको थियो ।

सोमबार न्यायाधीश मेघराज पोखरेलको इजलासले ओलीको र कुमार रेग्मीको इजलासले लेखकको निवेदनमाथि सुनुवाइ गर्दै जरुरी पक्राउ पुर्जी जारी गर्नु पर्ने पूर्वअवस्था के थियो? भनेर समेत सरकारलाई सोधेको थियो । जवाफमा सरकारले पूर्व प्रधानमन्त्री वा पूर्व गृहमन्त्री भएकै आधारमा तत्काल हिरासत मुक्त गर्न नसकिने जनाएको छ । पक्राउ परेकै दिनदेखि नै ओली त्रिवि शिक्षण अस्पतालमा छन् भने लेखकलाई प्रहरीले महाराजगञ्जकै प्रहरी गणमा राखेर बयान लिएको छ ।
 

आइतबार​ २२ चैत २०८२ ०९:५१ AM मा प्रकाशित

प्रतिक्रिया