संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढीदेखि डोटीको बिपीनगर, गडसेरा तथा बझाङको उरै हुँदै चिनको ताक्लाकोट जोेड्नका लागि सिधा सडक अर्थात् द्रुतमार्ग निर्माण गरिने बताउनुभएको छ ।
धनगढीमा रहेको गेटा विमानस्थल स्तरोन्नतीका लागि कैलाली पुग्नुभएका मन्त्री आले डोटी पनि पुग्नुभएको थियो । डोटीको जोरायल गाउँपालिका–५ गड्सेरा पुग्नु भएका मन्त्री आलेले यहाँका स्थानीयसँगको भेटघाट तथा छलफलका क्रममा उक्त सडक जुनसुकै हालतमा भए पनि निर्माण गरिने बताउनुभयो ।
उहाँले यो सडक निर्माणको लागि आफूले एसियाली विकास बैंक एडीबीसँग पहल चालेको पनि बताउनुभयो । मन्त्री आलेले कैलालीको धनगढीदेखि चिनको ताक्लाकोट सम्म सडक जोडिए चिनका पर्यटकहरु पनि सुदूरपश्चिम आउन सहज हुने र भारतका पर्यटक पनि आउने भएकाले पर्यटकहरु यहाँ भित्रयाउन सके यहाँको विकासमा सहज हुने जिकिर गर्नुभयो ।
यस्तै, मन्त्री आलेले विगतमा सुदूरपश्चिममा विकास निर्माणका काम कम हुने र बजेट पनि कम आउने भएकाले आफू मन्त्री भएपछि अहिले यहाँ बाँकी रहेका सबै विकासका काम पूरा गरेर देखाउने दाबी गर्नुभयो ।
प्रतिक्रिया