विराटनगर, साउन १८ गते। मोरङ प्रहरीले विराटनगरका प्रतिष्ठित उद्योगी तथा व्यापारिक घराना देवनरा समूह (Group) का सञ्चालक प्रकाश मुन्दडाको निवास र कार्यालयमा छापा मारेको छ। अवैध रूपमा ठुलो परिमाणमा नगद सञ्चित गरेको, हुण्डी कारोबार र कर छलीमा संलग्न रहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले सोमबार बिहानैदेखि खानतलासी सुरु गरेको हो।
मोरङ प्रहरी प्रमुख एसपी कविता कटवालको नेतृत्वमा खटिएको टोलीले सोमबार बिहान करिब ४ बजेदेखि नै विराटनगर–७ स्थित मुन्दडाको घर र देवनरा समूहको कार्यालयलाई घेरा हाली नियन्त्रणमा लिएको थियो।
प्रहरी टोलीले बिहान ४:४५ बजे मुन्दडाको निवास पुगेर सुरक्षा बल तैनाथ गरेको थियो। खानतलासीका क्रममा प्रहरीले जिल्ला प्रशासन कार्यालय र गोल्छा मोडतर्फबाट आउने सडकहरू समेत बन्द गराएको थियो। मुन्दडामाथि विगत लामो समयदेखि अवैध हुण्डी कारोबार, स्रोत नखुलेको रकम लुकाएको र कर छली गरेको गम्भीर आशंका र आरोप लाग्दै आएकाले अदालतको समन्वयमा यो अप्रेशन चलाइएको प्रहरी स्रोतले जनाएको छ।
प्रकाश मुन्दडाले नेतृत्व गरिरहेको देवनरा समूहले मुख्य रूपमा चाँदीको ठुलो कारोबार गर्दै आएको छ। यसबाहेक यो समूह अन्तर्गत बाबा रिफाइनरी (आयल), जेजे ज्वेलर्स, बाबा जुट मिल र हाइलाइफ चप्पल उद्योगहरू सञ्चालनमा छन्। मुन्दडा मोरङ व्यापार संघका पूर्वअध्यक्ष हुनुका साथै हाल नेपाल उद्योग परिसंघ (CNI) कोशी प्रदेशको उपाध्यक्ष समेत हुन्।
प्रहरीले मुन्दडाको घर र कार्यालयभित्र लामो समयदेखि सूक्ष्म खानतलासी गरिरहेको छ। छापा मार्ने क्रममा के-कति अवैध नगद, चाँदी वा कागजात बरामद भयो भन्नेबारे मोरङ प्रहरीले आधिकारिक विवरण सार्वजनिक गर्न बाँकी छ।
प्रतिक्रिया