×

कांग्रेस र एमालेलाई बिचौलिया र दलाल पुँजीपति वर्गले मिलाइदिए

images

काठमाडौँ- माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले एमाले-कांग्रेस गठबन्धन कुन स्वार्थले बनेको रहेछ भन्ने घटनाक्रमले पुष्टि हुँदै गएको बताएका छन् ।

पार्टी सम्बद्ध काठमाडौँ–दोरम्बा सम्पर्क मञ्चले शनिबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै पुनले प्रचण्ड नेतृत्वको सरकारले सुशासन कायम गर्न सञ्चालन गरेको भ्रष्टाचार विरोधी अभियानबाट तर्सिएका बिचौलिया र दलालहरूले राजनीतिक समीकरण फेरेको पछिल्लो घटनाक्रमहरूले पुष्टि गर्दै लगेको बताए । 

नेपालमा बिचौलियाहरूले प्रधानमन्त्री र मन्त्रीहरूको नियुक्ति तथा सचिव सरुवा गर्ने हैसियत बनाएको भन्दै उनले यो अवस्था अब लामो समयसम्म रहन दिन नहुने बताए । ‘अध्यक्ष प्रचण्डले डेढ वर्ष सरकारमा रहँदा भ्रष्टाचार, अनियमिताता र बिचौलिया प्रवृत्तिविरुद्ध संघर्ष गर्नुभयो । बाहिर आउँदा पनि माओवादीले सरकार चलाउँदा गलत काम गरेन भनेर मानिसहरूले भनिरहेका छन्,' पुनले भने, ‘आफ्नो स्वार्थमा काम नगरेका कारण बिचौलिया र दलाल पुँजीपति वर्गले हामीलाई मन पराएन । थप एक दिन सरकारमा बस्न दिँदा पनि आफ्नो बर्बाद हुने भयो भनेर कांग्रेस र एमालेलाई मिलाउने काम उनीहरूले गरे ।’

सरकार कसले र केका लागि बनाएको थियो भन्ने विषयको पटाक्षेप ट्रंक लाइन र डेडिकेटेड लाइनको विद्युत महसुल सरकारलाई नतिर्ने व्यवसायीहरूलाई सरकारले संरक्षण गरिरहेबाटै भएको पुनको भनाइ थियो । लाल आयोगले न्यायोचित ढंगले ८ अर्ब तिर्नुपर्छ भनेकामा सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले नै तिर्न नपर्ने भन्दै हिँडेको पुनको दाबी थियो । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले विद्युत महसुल नतिर्ने उद्योगीलाई बोलाएर छलफल गर्नु गम्भीर विषय भएको पनि पुनको भनाइ थियो ।

‘जनतालाई १८ घण्टा लोडसेडिङमा राखेर उद्योग चलाउनेहरूले विद्युत महसुल तिर्दिनँ भनेर चुनौती दिइरहेका छन् । ठूला दल, प्रधानमन्त्री र मन्त्रीहरू तिर्नुपर्दैन भन्दै हिँडेका छन् । यसैले पुष्टि हुन्छ कि यो कसले, कुन स्वार्थले बनाएको गठबन्धन रहेछ र सरकार कसको रहेछ ?,' पुनले भने, ‘संसद्को लेखा समितिले उनीहरूलाई ल्याएर बैठक बसाइएको छ, यो गम्भीर कुरा हो ।’


पुनले दुई ठुला दलले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकार खोस्ने र मुलुकलाई पछाडि फर्काउने गरी संशोधनको सहमति गरेको भन्दै त्यो सफल हुन नदिइने बताए । उनले दुई ठुला दलले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकार खोज्ने र मुलुकलाई पछाडि फर्काउने गरी संविधान संशोधनको सहमति गरेको भन्दै त्यो सफल हुन नदिइने बताए ।

माओवादी र प्रचण्डका कारण मुलुकमा राजनीतिक अस्थिरता निम्तिएको भन्ने दुई दलको दाबी सही नभएको भन्दै पुनले दुई तिहाइ बहुमतको संसद् विघटन गर्ने केपी ओली र उनलाई बोक्ने कांग्रेसले अरूमाथि त्यस्तो आरोप लगाउन नसुहाउने तर्क गरे । सरकारबाट बाहिरिनुपर्दा पनि आफ्नो पार्टीको शीर्ष नेतृत्वदेखि कार्यकर्ता पङ्क्तिसम्म कुनै चिन्तामा नरहेको भन्दै पुनले सुशासनको मामिलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पनि सहकार्य गरिने स्पष्ट गरे । 

शनिबार १९ साउन २०८१ ०८:५७ PM मा प्रकाशित

प्रतिक्रिया