×

बजेट महत्त्वाकाङ्क्षी छैन, सन्तुलित र वास्तविक छ : अर्थमन्त्री शर्मा

images

अर्थमन्त्री जनार्दन शर्माले आउँदाे आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट अत्यन्तै संयमता अपनाएर स्रोत र साधनको उचित विनियोजन गरिएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको आज शुक्रवारको बैठकमा आव २०७९/८० को बजेटमाथिको सैद्धान्तिक छफलमा उठेका प्रश्नको उत्तर दिँदै उहाँले बजेट महत्त्वाकाङ्क्षी नभइ सन्तुलित र वास्तविक भएको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री शर्माले चालु आवको तुलनामा आउँदाे वर्षकाे बजेट ९ दशमलव ८६ प्रतिशतले मात्रै बढी भएकाले यसलाई महत्त्वाकाङ्क्षी भन्न नमिल्ने बताउनुभयो । उहाँले संविधान र सङ्घीयताको मर्मलाई मध्यनजर गरी बजेट तर्जुमा गरिएको धारणा राख्नुभयो ।

कृषि क्षेत्रमा प्रोत्साहन, बाँझो जमिनको सदुपयोग र युवालाई कृषिमा आकर्षण गर्न कार्यक्रम बजेटमा समेटेकाे उहाँले जानकारी दिनुभयो । किसानलाई आत्मसम्मानका साथ उत्साहित गर्नुपर्ने भएकाले योगदानमा आधारित किसान हितकोषको व्यवस्था गरिएको र बजेटले आन्तरिक उत्पादनलाई जोड दिएको उहाँले उल्लेख गर्नुभयो । 

उपलब्ध स्रोत, साधन, पुँजी र प्रविधिलाई जोडेर तीव्र उत्पादनतर्फ देशलाई लैजाने आजको आवश्यकता भएकाले त्यहीअनुसार बजेट तर्जुमा गरिएको मन्त्री शर्माले बताउनुभयो । उत्पादनमूलक उद्योग, निर्यात प्रवर्द्धनलगायत विषयलाई बजेटले समेटेको पनि उहाँले जानकारी दिनुभयो ।

अर्थमन्त्री शर्माले चुनाव हुने वर्ष भए नि संविधानतः सरकारले हरेक जेठ १५ मा वार्षिक बजेट पेस गर्नुपर्ने भएकाले त्याे दायित्व निर्वाह गर्दै बजेट ल्याइएकाले चुनावपछि बन्ने सरकारले पनि यस बजेटलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले देशकाे अर्थतन्त्र चलायमान बन्दै गएको र पर्यटनबाहेक सबै क्षेत्र पूर्ववतः अवस्थामा फर्किएको तथा राजस्व सङ्कलन पनि सन्तोषजनक रहेको बताउनुभयो । 

शुक्रबार​ २० जेठ २०७९ ०५:१९ PM मा प्रकाशित

प्रतिक्रिया