×

एमसीसीले अतिरिक्त सहायता उपलब्ध गराउने

images

वासिंटन। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले छ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ। अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको ९२ अर्ब बराबरको एमसीसीअन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्णय भएको एमसीसी सञ्चालक समितिले आज जनाएको छ।

“मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर स्वीकृत गरेको छ। बोर्डको यो निर्णयले रूपान्तरणकारी, उच्च गुणस्तरीय पूर्वाधार परियोजनाहरूमार्फत नेपालको विकास प्राथमिकता कार्यान्वयन गर्ने एमसिसी र नेपाल सरकारबीचको साझा प्रतिबद्धतामा जोड दिएको छ”, एमसीसीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।

यो अतिरिक्त सहायता रकमबाट नेपालको विद्युत् प्रसारणलाई सुदृढ गर्न, दीर्घकालीन आर्थिक वृद्धिका साथै ‘कम्प्याक्ट’को सफलता सुनिश्चित गर्न योगदान पुग्ने विश्वास एमसिसी कम्प्याक्ट अपरेसनका उपाध्यक्ष क्यामरन अल्फोर्डले व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ।

एमसीसी परियोजनाअन्तर्गत चार सय केभीको डबल सर्किट तीन सय १५ किलोमिटर विद्युत् प्रसारण लाइन बन्नेछ। काठमाडौंको लप्सीफेदी र नुवाकोटको रातमाटेमा सबस्टेसन, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म प्रसारण लाइन बनाइने छ। प्रसारण लाइन निर्माणपछि नेपाल-भारतबीच तीन हजार मेगावाट बिजुली आदानप्रदान सम्भव हुनेछ।

एमसीसी कम्प्याक्ट अपरेसनका उपाध्यक्ष क्यामरन अल्फोर्डले भने, ‘यस अतिरिक्त आर्थिक सहयोगले नेपालको विद्युत् ग्रिडलाई बलियो बनाउने र दीर्घकालीन आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने दिशामा कम्प्याक्टको सफलता सुनिश्चित गर्ने हाम्रो साझा प्रतिबद्धतालाई पुष्टि गर्दछ।’ मिलेनियम च्यालेन्ज कर्पोरेसन आर्थिक वृद्धिमार्फत विश्वव्यापी गरिबी निवारण गर्न कार्यरत अमेरिकी सरकारको एक स्वतन्त्र विकास निकाय हो।

सन् २००४ मा स्थापित एमसीसीले सुशासन, भ्रष्टाचारविरुद्धको लडाइँ र लोकतान्त्रिक अधिकारको सम्मानसम्बन्धी कडा मापदण्ड पूरा गर्ने देशलाई पूर्वाधार निर्माण वा सुधारका साथै नीतिगत तथा संस्थागत सुधारमा लगानी गर्न समयसीमामा बाँधिएका अनुदान उपलब्ध गराउँछ।

शुक्रबार​ १९ पुस २०८१ १२:३७ PM मा प्रकाशित

प्रतिक्रिया