×

प्रधानमन्त्री र शिक्षामन्त्रीलाई सांसदकाे प्रश्न : विश्वविद्यालय बन्द गराएर देशलाई कहाँ पुर्‍याउन खोजिएको हो ?

images

 नेकपा एमालेका सांसद पदम गिरीले प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल विश्वविद्यालयको समस्या समाधान गर्न नलागेका आरोप लगाउनुभएको छ । 

शुक्रवारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद गिरीले त्रिभुवन विश्वविद्यालय अझै पनि बन्द अवस्थामा रहेको बताउनुभयो । नेविसङ्घले उपकुलपतिको कार्यालयमा गएर तोडफोड गर्ने तथा त्रिवि कार्यकारी समिति बैठकको कागजात खोस्ने लगायतका कामहरू गरिरहेको भन्दै उहाँले दोषीमाथि मुद्दा दर्तासमेत हुन नसकेको गुनासो गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘आज त्रिभुवन विश्वविद्यालयका पदाधिकारी असुरक्षित भएका छन् । फोन अफ गरेका छन् । घरमा सुत्न नसक्ने अवस्था भयो डरले । छिमेकीकोमा गएर सुत्नुपर्ने अवस्था आएको छ । यस्तो दुरावस्था विश्वविद्यालयभित्र छ । सभामुखले १३ गते सरकारको नाममा रुलिङ गर्दै तुरुन्त विश्वविद्यालय खोल्न आवश्यक व्यवस्था मिलाउनु भन्नुभयो । तर सरकारका प्रमुख प्रधानमन्त्री, त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाज्यू, सहकुलपति शिक्षामन्त्रीज्यू विश्वविद्यालय खुलाउनतर्फ लाग्नुभएको छैन । विश्वविद्यालयका पदाधिकारी विश्वविद्यालय आउनसक्ने अवस्था छैन ।’

सांसद गिरीले प्रधानमन्त्री र शिक्षामन्त्रीलाई विश्वविद्यालय बन्द गराएर देशलाई कहाँ पुर्‍याउन खोजिएको हो भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले विश्वविद्यालयको समस्या समाधानका लागि सभामुखलाई पुनः रुलिङ गर्न अनुरोध पनि गर्नुभयो । 

शुक्रबार​ १७ भदौ २०७९ ०३:२४ PM मा प्रकाशित

प्रतिक्रिया