राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएको आउँदाे आर्थिक वर्षको बजेट चुनाव केन्द्रित रहेको टिप्पणी गर्नुभएको छ ।
अध्यक्ष लिङ्देनले ललिपपजस्तो मानिसहरूलाई भूल्याउने गरी सरकारले बजेट ल्याएको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाउनुभयो । आज बुधवार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले बजेटले चर्को मूल्यवृद्धि रोक्ने, देशकाे आर्थिक सङ्कट समाधान गर्ने कुनै प्रयास नगरेको दाबी गर्नुभयो ।
अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘बजेटको कुरा गर्दा हामीले मात्रै वितरणमुखी बजेट ल्याएको हो, अहिले मात्रै हामीले यस्तो बजेट ल्याएको हो ? भनेर टार्ने र जवाफ दिने खालको कुरा आउँछ । याे बजेट मूल्यवृद्धि, आर्थिक सङ्कट रोक्नेतर्फ उन्मुख छैन । यो बजेट केवल चुनाव लक्षित छ । यो बजेटको स्रोत के हो, यसको कार्यान्वयनका आधारहरू के हुन् ? कहीँ पनि स्पष्ट छैन । एकै घण्टामा चितवन पुग्ने भन्ने बजेटमा छ तर त्यसका आधार के हुन्, स्रोत के हुन् ? यी सबैबाट के देखिन्छ भने यो बजेट एउटा ललिपपको रूपमा मानिसहरूलाई भुल्याउने गरी मात्रै ल्याइएको छ । हेटौँडा कपडा उद्योगबाट उत्पादित लुगा सबैले लगाउनुपर्ने कुरा पनि बजेटमा छ । आम मान्छेले सुन्दा कति राम्रो कुरा ल्यायो यो सरकारले भन्छ । उद्योग कहिले चल्ने हो, कहिले उत्पादन गर्ने हो ? उद्योग चलाउने संयन्त्र के हो ? थाहा छैन ।’
अध्यक्ष लिङ्देनले सरकारले ल्याएको बजेट स्रोतको यकिन नगरि अनुमानको भरमा आएको पनि बताउनुभयो ।
प्रतिक्रिया