अमेरिकीहरु एमसीसी सम्झौता अनुमोदनका लागि ‘लविङ’ तीव्र – EsancharPati
अमेरिकीहरु एमसीसी सम्झौता अनुमोदनका लागि ‘लविङ’ तीव्र

अमेरिकीहरु एमसीसी सम्झौता अनुमोदनका लागि ‘लविङ’ तीव्र

अमेरिकन मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अन्तगर्तको नेपाल अनुदानको सम्झौता यथास्थितिमा अनुमोदन गराउन अमेरिकीहरुले ‘लविङ’ तीव्र पारेका छन्।

संसदमा विचाराधिन सम्झौताबारे अध्ययन गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा नेता भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सम्मिलित कार्यदल गठन भइसकेका बेला अमेरिकीहरुले यो सम्झौता नेपालको हितमा भएको भन्दै अनुमोदनमा सहयोग गर्न नेकपाका नेता तथा सरकारलाई भेटेर आग्रह गर्न थालेका हुन्।

कारण अर्कै खुलाए पनि एमसीसीको नेपाल सम्झौता अनुमोदन गराउन ‘लविङ’कै लागि नेपाल आएका एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले शुक्रबारदेखि एमसीसीका नेपालस्थित अधिकारीहरुसँगै नेकपाका नेताहरुसँग छलफल तीव्र पारेको स्रोत बताउँछ।

यसअघि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई नेपालस्थित अमेरिकी राजदूत र्‍याण्डी बेरीले भेटेर सम्झौतामा उल्लेख गरिएका प्रावधानले नेपालको सार्वभौमसत्तामा असर नपर्ने भन्दै त्यो अनुमोदनका लागि सहयोग गरिदिन आग्रह गरेका थिए।

‘अमेरिकीहरुले प्रतिष्ठाको विषय बनाउँदै यो सम्झौतालाई जसरी पनि पास गराउने पक्षमा ‘लविङ’ तिव्र पारेका छन्। उनीहरुको सबैभन्दा धेरै भेटघाट नेकपा नेताहरुसँग नै भएको छ। उनीहरु यो सम्झौता नेपालको हितमै भएको सन्देश दिन व्यस्त देखिएका छन्’, नेकपाका एक केन्द्रीय सदस्यले भने।

यसअघि यही माघ ३ गते अमेरिकी दूतावासले नेपालमा हल्ला चलाइए जस्तो अमेरिकाको सैन्य रणनीतिसँग नजोडिएको भन्दै यो सम्झौताका १० महत्वपूर्ण बुँदा सार्वजनिक गरेर यो सम्झौता याथस्थितिमा पास गर्न हुन्न भन्नेहरुलाई आफ्नो अडान त्याग्न घुमाउरो सन्देश दिएको थियो।

तर त्यसको करिब दुई सातापछि माघ १९ मा सम्पन्न नेकपाको केन्द्रीय कमिटी बैठकका अधिकांश सदस्यहरुले सम्झौतालाई लिएर आफूहरु स्पष्ट हुन नसकेको भन्दै स्पष्टताका लागि नेतृत्वसमक्ष माग गरेपछि १० दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारीसहित कार्यदल गठन गरिएको थियो।

कारण अर्कै खुलाए पनि एमसीसीको नेपाल सम्झौता अनुमोदन गराउन ‘लविङ’कै लागि नेपाल आएका एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले शुक्रबारदेखि एमसीसीका नेपालस्थित अधिकारीहरुसँगै नेकपाका नेताहरुसँग छलफल तीव्र पारेको स्रोत बताउँछ।

कार्यदलले यही २९ गतेभित्र आफ्नो प्रतिवेदन नेकपा केन्द्रीय सदस्यलाई बुझाउनु पर्नेछ।  तर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो बीचमा पोखरा पुगेर कार्यदलले प्रतिवेदनमा जे ल्यायो त्यो मान्य नहुने प्रतिक्रिया दिएका छन् भने त्यसको केही दिनपछि शनिबार काठमाडौँमै सम्झौताबारे बुझेर या स्पष्ट भएर मात्रै यो सम्झौता अनुमोदन हुने प्रतिक्रिया दिएका थिए।

नेपाली कांग्रेसका सभापति शेरबहादुर नेतृत्वको सरकारले २०७४ सालमा पाँच वर्षमा लागू गर्ने सर्तसहित उक्त सम्झौतामा हस्ताक्षर गरेको थियो।

तर अमेरिकी सैन्य चरित्रको इन्डोप्यासिफिक स्ट्राटेजी आईपीएससँग यो सम्झौता जोडिएकोले संशोधन गरेर मात्रै संसदबाट पारित गर्नुपर्ने अडान नेकपाका भीम रावल, देव गुरुङ, लिलामणी पोखेरेल लगायत नेताहरुले राखेपछि त्यसरबारे प्रष्ट हुन कार्यदल गठन गरिएको हो।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सम्झौता आईपिएससँग सम्बन्धित नभएकाले छिटोभन्दा छिटो यो संसदबाट पारित गर्नुपर्ने र कार्यदलको चक्करमा लाग्न नहुने अडानमा भएपनि अर्का अध्यक्ष दाहाल लगायत अन्य नेताहरुको दवावका कारण उनी कार्यदल गठन गर्न बाध्य भएका थिए।

आईपिएससँग जोडिएकाले संशोधन गरेर मात्रै सम्झौता अनुमोदन गर्नुपर्ने अडानमा रहेका नेता रावल, बीचको बाटो समातेका नेता खनाल र आईपिएससँग नजोडिएको दाबी गर्दै आएका परराष्ट्रमन्त्री ज्ञवालीको संयुक्त प्रतिवेदन कस्तो आउला भन्ने प्रतिक्षाको विषय बनेको छ।

सम्झौता अन्तर्गत अमेरिकी सरकारले अनुदान स्वरुप ५० अर्व रुपैयाँ दिने र त्यसमा नेपालले पनि रकम थपेर ३१२ किमी उच्च क्षमता (४०० केभी) को प्रसारण लाइन, ३ वटा सव–स्टेशन र नेपाल–भारत सीमापार प्रसारण लाइन र ९९ किमी सडक स्तरोन्नति गर्ने योजना छ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •