फ्रान्सको लुवर संग्रहालय पुनः खुला – EsancharPati
फ्रान्सको लुवर संग्रहालय पुनः खुला

फ्रान्सको लुवर संग्रहालय पुनः खुला

काठमाडौं : विश्वकै अत्यधिक धेरै मानिस भ्रमण गर्ने फ्रान्सको लुवर संग्रहालय झण्डै साढे ३ महिनापछि पुनः खुलेको छ । कोरोना भाइरस संक्रमणको खतरा बढ्दै गएपछि बन्द गरिएको संग्रहालय सोमबारदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको हो ।

पुनः खुला गरिएपछिको पहिलो दिनमा सोमबार करिब ७ हजार जनाले संग्रहालय भ्रमण गरेका छन् । जबकी कोरोना भाइरस संक्रमण फैलिनु अघिसम्म दैनिक औसतमा ३० हजारले संग्रहालय भ्रमण गर्ने गरेका थिए ।

त्यहाँ घुम्न जानेलाई मास्क लगाउन अनिवार्य गरिएको संग्रहालयका अध्यक्ष तथा निर्देशक जेन लुक मार्टिनेजले जानकारी दिए । हरेक चरणमा ५०० आगन्तुकलाई प्रवेश दिइएको छ । त्यसका लागि उनीहरुलाई आधारभूत स्वास्थ्य सतर्कता र मापदण्ड पूरा गर्नैपर्ने व्यवस्था गरिएको छ ।

आगन्तुकहरुलाई बस्ने ठाउँमा सामाजिक दूरी कायम हुने गरी व्यवस्था गरिएको छ । एकातिरबाट जाने र अर्कोतिरबाट निस्कने व्यवस्था मिलाइएको छ । यस संग्रहालयमा युरोपेली मुलुकहरुबाहेक चीन, दक्षिण कोरिया, जापान, अमेरिका, ब्राजिल लगायतबाट पनि हजारौं पर्यटक जाने गरेका छन् ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares