पञ्चासे केवलकार निर्माणको चरणमा प्रवेश

पञ्चासे केवलकार निर्माणको चरणमा प्रवेश

काठमाडौं, ९ फागुन । पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडले पोखरा महानगरपालिका–२३ घाँटीछिनादेखि पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ र मोदी गाउँपालिका–८ मा पर्ने पञ्चासे तालसम्म निर्माण गर्ने ८.५ किलोमिटर दूरीको केवलकार सम्पूर्ण गृहकार्य सकेर निर्माणको चरणमा प्रवेश गरेको स्पष्ट पारेको छ ।

बिहीवार रिपोर्टर्स क्लब नेपालमा लिमिटेडले पत्रकार सम्मेलनको आयोजना गरेर उक्त केवलकार निर्माण गर्नेबारे जानकारी गराएको हो । कुल ११ अर्ब ३८ करोड ५० लाखको लागतमा निर्माण हुने उक्त केवलकार नेपालकै सबैभन्दा ठुलो र लामो हुनेपनि कम्पनीको दाबी छ । उक्त परियोजनाले पञ्चासे क्षेत्रलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा स्थापित् गर्ने पनि कम्पनीको दाबी छ ।

पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडकाअनुसार मोनोकेबल डिटाचेवल प्यासेन्जर केबलकार निर्माणका लागि सरकारसँग करिब ३ हजार रोपनी जग्गा लिजमा लिने सम्झौता भैसकेको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

शर्माले उक्त केवलकार निजी, सामूदायिक र जनसहभागितामा निर्माण हुने जनाए । उनले भने,‘अहिले हामीलाई सबै क्षेत्रबाट सकारात्मक सहयोग र हौसला प्रदान भैरहेको छ । पञ्चासे केवलकार निजी–साझेदारी सहकार्यमा निर्माण हुने नेपालकै राष्ट्रिय गौरवको परियोजना बन्न सक्दछ भन्ने हाम्रो गहिरो विश्वास छ । हाम्रै कम्पनीको लगानीमा तनहुँको बन्दीपुरमा निर्माण सम्पन्न हुन लागेको केवलकार त्यसको लागि बलियो प्रमण हुने हामीले विश्वास लिएका छौं ।’

उनले पोखरा क्षेत्रलाई पर्यटनको केन्द्रविन्दु बनाउँदै वृहत पर्यटकीय गन्तव्यको विस्तार गरि पर्यटकहरुको बसाई लम्बाउने र स्थानीय आयश्रोत बढाउने उद्देश्यका साथ आफूहरुले उक्त केवलकारको परिकल्पना गरेको स्पष्ट पारे ।

शर्माले थपे,‘पर्यटन क्षेत्रलाई व्यवसायिकरण गर्ने ‘कर्पोरेट जोइन्ट भेञ्चर कल्चर’को प्रवद्र्धन गरेर बृहत पूँजीको निर्माण गर्ने र पूँजीको प्रयोगबाट बृहत्तर परियोजना निर्माण सम्पन्न गर्ने तथा सामूहिक आयआर्जन गर्दै यस क्षेत्रबाट उल्लेखनीय योगदान पु¥याउने यस केवलकारको उद्देश्य रहेको छ ।’

त्यस्तै वैदेशिक रोजगारीमा गएका नेपाली कामदारलाई ७ प्रतिशत, कास्की, पर्वत, स्याङ्जामा रहेका सहकारीलाई ६ प्रतिशत, राष्ट्रसेवक कर्मचारीका लागि ५ प्रतिशत, पत्रकारका लागि ३ प्रतिशत, नेपाली सेनाका लागि २ प्रतिशत, नेपाल प्रहरीका लागि २ प्रतिशत, शिक्षकका लागि २ प्रतिशत र श्रमिक र अन्यका लागि २ प्रतिशत सेयर छुट्याइएको शर्माले जानकारी दिए ।

कार्यक्रममा लिमिटेडका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि शर्मा तिमिल्सिनाले यो परियोजना निर्माण भएसँगै उद्यमशिलतामा परिवर्तन आउने विश्वास दिलाए । उनले भने,‘देशको विकास गर्नको लागि हामी तीनै निजी, सरकारी र संस्थागत सहकारी मिलेर अघि बढ्नुपर्छ ।’

उनले आफूहरुले यो आयोजनामा स्थानीयहरुलाई प्राथमिकता दिएको सुनाए । तिमिल्सिनाले भने,‘हामीले स्थानीहरुलाई ध्यानमा राखेर जसको मासिक आम्दानी ५० हजारभन्दा मुनि रहेको छ, उनीहरुलाई आयोजनामै रोजगारीको व्यवस्था गर्छौं । र, प्रत्येक घरधुरीलाई एक लाखसम्मको सेयरको व्यवस्था पनि गरेका छौं ।’

यो परियोजनाको लागि लाग्ने लागतको लागि आफूहरुले बैंकसँग ६० प्रतिशत ऋण लिने र बाँकी ४० प्रतिशत जनसहभागितामा जुटाउने पनि आयोजकले जनाएको छ । आयोजकका अनुसार उक्त परियोजना अष्ट्रेलियन प्रविधिमा निर्माण गर्न लागिएको छ । आयोजकले जनाएअनुसार यो केवलकार नेपालमै पहिलो ट्रान्जिटयुक्त हुनेछ ।

उक्त परियोजनाले दश हजार नेपालीलाई रोजगारी प्रदान गर्ने पनि निर्माण कम्पनीको दाबी छ । लिमिटेडले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘यो परियोजना अब सम्पूर्ण गृहकार्य सकेर निर्माणको चरणमा प्रवेश गर्दैछ ।’

निर्माण कम्पनीले परियोजनाका लागि संस्थागत, व्यक्तिगत र सामुदायिक शेयरमा सहभागी हुन सम्पूर्ण उद्योगी–व्यवसायी, पेशाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी एवं लक्षित क्षेत्रका सम्पूर्ण जनसमुदायलाई हार्दिक अपील गरेको छ ।

पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडको प्रेस विज्ञप्ति

आदरणीय सञ्चारकर्मी मित्रहरु,

​पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेड आधुनिक विद्युतीय यातायात प्रणालीलाई पर्यटन पुर्वाधारसँग जोडेर मौलिक खालको वृहत्तर पर्यटन उद्योगको रुपमा आफूलाई स्थापित गर्ने र सीमित व्यक्तिहरुको हातमा रहेको नेपाली अर्थतन्त्रलाई वास्तविक रुपमा समुदायको हातमा ल्याएर आर्थिक स्वतन्त्रता र स्वाधीनताको जग बसाउने दुरगामी दृष्टिकोण राखेर अगाडि बढिरहेको छ । यसबाट नै राष्ट्र र समुदायको समृद्धि र विकासको परिकल्पना साकार हुन सक्छ भन्नेमा कम्पनि स्पष्ट छ ।

​व्यवहारिक रुपमा समेत कम्पनी आफ्ना सञ्चालक र अभियान्ताहरुलाई त्याग नै शक्ति हो, हामी देश बनाउने अभियानमा छौं भन्ने मनोवैज्ञानिक भावना जागृत गराएर एकाग्रताका साथ अगाडि बढिरहेको छ । नीजि, सामुदायिक र जनसहभागितामा निर्माण हुने यस केवुलकार र कम्पनिलाई सबै क्षेत्रबाट सकारात्मक सहयोग र हौसला प्रदान भइरहेको छ । यसका लागि कम्पनि शुभेच्छुक र सहयोगी सबै मनहरुमा हृदयदेखि धन्यवाद व्यक्त गर्दछ ।

​पोखरा क्षेत्रलाई पर्यटनको केन्द्रविन्दु बनाउँदै वृहत पर्यटकीय गन्तव्यको विस्तार गरि पर्यटकहरुको बसाई लम्बाउने र स्थानीय आयश्रोत बढाउने उद्देश्यका साथ पञ्चासे केवलकारको परिकल्पना गरिएको हो । पर्यटन क्षेत्रलाई व्यवसायिकरण गर्ने ‘कर्पोरेट जोइन्ट भेञ्चर कल्चर’को प्रवद्र्धन गरेर बृहत पूँजीको निर्माण गर्ने र पूँजीको प्रयोगबाट बृहत्तर परियोजना निर्माण सम्पन्न गर्ने तथा सामूहिक आयआर्जन गर्दै यस क्षेत्रबाट उल्लेखनीय योगदान पु¥याउने यस केवलकारको उद्देश्य रहेको छ ।

​कम्पनिले जन–जनको धनले पर्यटनको सर्वाङ्गिण विकास गर्ने आधुनिक विद्युतीय यातायातलाई पर्यटन पूर्वाधारको अभिन्न अंग बनाएर राष्ट्रिय आय एवं समृद्धिको अभियानमा ठोस तथा नमूना सन्देश प्रभावित गराउने परिलक्ष्यका साथै आधुनिक विद्युतीय पारवहन प्रविधिको एजेण्डामा राष्ट्रिय पूँजीको निर्माण गर्ने र व्यावसायिक आयआर्जनबाट रणनीतिक महत्वका पाँचौं जेनेरेशनका लागि ‘स्काई वे टेक्नोलोजी’ भित्राउने गरी मौलिक आर्थिक ढाँचा प्रतिपादन गरी लागू ‘मिसन’ अगाडि सारेको छ ।

​यस परियोजनाका मूख्य विषेशताहरूमा ः पव्लिक कम्पनी, सबै तह र तप्काका जनताका लगानी, प्रभावित क्षेत्रका पञ्चासे वरपरका साविकका गा.वि.स.मा बसोबास गर्ने एकाघरका लागि योगदानमा आधारित रू. १ लाखको शेयर, किस्ताबन्दीमा शेयर संकलन, केवलकार मात्र नभई एकीकृत विकास योजना, स्थानीयलाई रोजगारीमा प्राथमिकता दिई त्यसबाट प्राप्त तलवको निश्चित हिस्साबाट शेयर पूँजी संकलन गर्न सकिने जस्ता व्यवस्था मूख्य रहेका छन् ।परियोजनामा आधुनिक प्रविधिहरुमा आधारित ८.५ किमी लामो मोनोकेवल डिटाचेवल प्यासेञ्जर

केवलकार, आध्यात्मिक र सांगीतिक धुनमा आधारित म्युजिकल वाटर डान्सिङ फ्लोरा, स्थानीय समुदायका सीप विकास तालिमबाट हस्तकलाका मौलिक उपहारहरु निर्माण गरी मायाको चिनोको रुपमा बिक्री गर्न हेरिटेज प्लाजा, वातावरणमैत्री ३० वटा कलात्मक होटल र ७ वटा कलात्मक रिसोट, गाउँले संस्कृति र रहनसहनको झझल्को बुझाउने गरी २२५ वटा होमस्टे, तालभन्दा पूर्व उत्तरी मोहोडामा आधुनिक प्रेम पार्क, उत्तरी पश्चिमी भागका खर्कहरुमा वातावरणमैत्री सम्पूर्ण शहिदहरुको शालिकहरु स्थापना गरेर शहिद पार्कको स्थापना गरिनेछ ।

​त्यसैगरि मातापिता भक्त श्रावणकुमारको समाधिस्थल पञ्चासे क्षेत्रमा एक मौलिक बृद्धाश्रमका साथै योग आश्रम, पदमार्ग एवं साइकल मार्ग, पञ्चासेदेखि आर्थरसम्म जिप प्mलायर, वातावरणमैत्री फुड एण्ड लिक्वीड कोर्ट, ८०० जना अट्ने क्षमताको बेन्क्वीट हल, मनोरञ्जन पार्क, राष्ट्रिय ख्यातीप्राप्त व्यक्ति र महत्वपूर्ण जनावरहरुको मूर्ति र संग्रहालय, जडीबुटी प्रशोधन तथा अनुसन्धान केन्द र हर्वल म्युजियम, पञ्चासे क्षेत्र पाइने सबै फूलहरु भेटिने पुष्प बगैंचा, मिनेरल वाटर उत्पादन, वाटर पार्क, पञ्चासेदेखि राम्जा–चित्रे रोपवे लगायतका संरचना बनाउने परियोजनाको लक्ष्य रहेको छ ।

​यस परियोजना समुदायको आयआर्जनको भरपर्दो स्रोत बन्छ र समाजलाई औद्योगिक एवं उद्यम अभियानमा सहभागिता गराउन मद्दत पुग्नेछ । परियोजनाले पञ्चासे क्षेत्रलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्नेछ । यसले सामाजिक पूर्वाधारहरुको विकासका लागि ढोका खोलिदिन्छ । पर्वत, कास्की र स्याङ्जा जिल्लाको संगमस्थल भएकाले यस परियोजनामार्फत् बहुजिल्ला पर्यटन प्रवद्र्धनको विकास गर्न सकिन्छ । यसले पर्यटनलाई उद्योगका रुपमा विकसित गर्न महत्वपूर्ण योगदान गर्न सक्दछ ।

​पञ्चासे केवलकार नीजि–साझेदारी सहकार्यमा निर्माण हुने नेपालकै राष्ट्रिय गौरवको परियोजना बन्न सक्दछ भन्ने हाम्रो गहिरो विश्वास छ । हाम्रै कम्पनिको लगानीमा तनहुँको बन्दीपुरमा निर्माण सम्पन्न हुन लागेको केवलकार त्यसका लागि बलियो प्रमाण हुने हामीले विश्वास लिएका छौं । पञ्चासे केवलकार नेपालको सबैभन्दा ठूलो, लामो केवलकार हुनुका साथै नागरिकको प्रत्यक्ष लगानीमा १० हजार नेपालीलाई रोजगारी प्रदान गर्ने परियोजना हो । जुन परियोजना अब सम्पूर्ण गृहकार्य सकेर निर्माणको चरणमा प्रवेश गर्दैछ ।

​अन्त्यमा, यस परियोजनाले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिएका छौं । परियोजनाका लागि संस्थागत, व्यक्तिगत र सामुदायिक शेयरमा सहभागी हुन सम्पूर्ण उद्योगी–व्यवसायी, पेशाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी एवं लक्षित क्षेत्रका सम्पूर्ण जनसमुदायलाई हार्दिक अपील गर्दै परियोजनाको यथार्थ जनसमुदायमा सम्प्रेषण गरिदिनु हुन सम्पूर्ण सञ्चार माध्यम र सञ्चारकर्मी मित्रहरुमा अनुरोध गर्दछौं, धन्यवाद ।

मिति ः ९ फागुन, २०७५

रामचन्द्र शर्मा
अध्यक्ष