महिला टी–ट्वान्टी स्म्यासः नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

महिला टी–ट्वान्टी स्म्यासः नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौंः थाइल्याण्डमा जारी महिला टी–ट्वान्टी स्म्यासको समूह चरणको अन्तिम खेलमा आज नेपालले थाइल्याण्डलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।
बुधबार भएको खेलमा थाइल्याण्ड ‘ए’ टिमलाई ९ विकेटले पराजित गर्दै नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
बैंककमा भएको खेलमा थाइल्याण्ड ‘ए’ ले दिएको २० रनको लक्ष्य नेपालले ३ ओभर ३ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा ममता कुमारी चौधरीले ८ रन, नेरी थापाले अविजित ५ तथा डोली भट्टले अविजित २ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्ड ‘ए’ १५ ओभर ४ बलमा अलआउट हुँदै १९ रन बनाएको थियो ।
थाइल्याण्डकी थान्चानोक फोप्लुकले सर्वाधिक ४ रन, वार्ली सिनसोङले ३ रन मात्र बनाए । थाइल्याण्डले ७ रन अतिरिक्त रन पाएको थियो ।
नेपालका लागि आरती बिडारीले ३ विकेट, इन्दु बर्मा र सरिता मगरले २र२ विकेट लिए ।
जितसंगै नेपाल ४ खेलमा अपराजित रहदै सेमिफाइनलमा पुगेको हो ।
समूह ‘ए’ मा रहेको नेपालले ४ खेलबाट ८ अंक जोड्यो । यस समूहबाट ६ अंक जोडेको युएई उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो ।
अब नेपालले सेमिफाइनलमा शुक्रबार समूह ‘बी’ को उपविजेता इन्डोनेसियासँग खेल्नेछ ।