राप्रपा (प्रजातान्त्रिक) द्धारा हिन्दु राष्ट्र सहितको मुलुकका लागि अघि बढ्ने संकेत

राप्रपा (प्रजातान्त्रिक) द्धारा हिन्दु राष्ट्र सहितको मुलुकका लागि अघि बढ्ने संकेत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले हिन्दु राष्ट्र सहितको मुलुकका लागि अघि बढ्ने संकेत गरेको छ ।
बुधबार २९७औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा स्वतन्त्र बुद्धिजीवि मञ्चले राजधानीमा गरेको कार्यक्रममा बोल्दै राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले आफ्नो पार्टीले हिन्दु राष्ट्र सहितको मुलुकका लागि अग्रसरता लिने संकेत गरेका हुन ।
‘पृथ्वीनारायण शाहको दिव्योवदेशलाई पालना गरे मात्रै अब यो मुलुक बन्छ, त्यसका लागि हिन्दु धर्म सहितको राष्ट्र आवश्यक छ, अब राप्रपा मुलुकमा हिन्दु राष्ट्र स्थापनका लागि अघि बढ्छ,’ अध्यक्ष राणले भने ।
उनले पृथ्वीनारायण शाहको योगदानकै कारण मुलुक वर्तमान अवस्थामा आइपुगेको भन्दै शाहले मुल्ुकलाई संकटको अवस्थाबाट जोगाएको समेत बताए ।
कार्यक्रममा वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले हिमाल पहाड र तराइलाई जोड्ने काम सनातन धर्म संस्कृतीले मात्रै गर्ने भएकाले धर्म संस्कृतीको रक्षामा सबैले ध्यान दिनु पर्नेमा जोड दिए ।
उनले कोही माओको विचार बोकेर सत्तामा पुगेको त कोही विभिन्न किसिमका आन्दोलनहरुबाट सत्तामा पुगेको विश्व इतिहास रहेको भन्दै पृथ्वीनारायण शाहको विचारलाई बोकेर पनि राजनीति गर्न सकिने जनाए । कार्यक्रममा डा दिनेशराज पन्त सहितका वक्ताहरुले पृथ्वी नारायण शाहले मुलुकमा दिएको योगदानका बारे चर्चा गरेका थिए ।
विभिन्न चिरामा विभाजित भएका राप्रपाका बीच एकताका कुरा आउँदा समेत हिन्दु धर्मलाई अंगाल्ने कि नअंगाल्ने भन्ने विवाद रहँदै आएको छ । पछिल्लो समय राप्रपा प्रजातान्त्रिक र राप्रपा बीच पार्टी एकताको चर्चा हुँदा समेत धर्मको विषयले स्थान पाएको थियो ।
कमल थापा नेतृत्वको राप्रपाले भने धर्म र राजतन्त्रको विषयमा प्रजातान्त्रिक राप्रपासँग कुरा नमिलेका कारण एकता भाँडिएको बताएको थियो ।
बिदा माग्दै सातै प्रदेशका मूख्यमन्त्रीलाई ज्ञापन
यसै बीच राप्रपा (प्रजातान्त्रिक) ले बुधबार देशका सातै प्रदेशका मुख्य मन्त्रीहरुलाई २७ पुसमा पर्ने पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गर्दै ज्ञापन पत्र बुझाएको छ । राप्रपा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले पृथ्वी जयन्तिमा सार्वजनिक बिदाको माग गर्दै सातै प्रदेशमा मुख्यमन्त्रीहरुलाई ज्ञापनपत्र बुझाइएको जनाए । उनले सो दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउँदै आइएकाले देशभर सार्वजनिक बिदा दिन माग गर्दै ज्ञापनपत्र बुझाइएको जनाएका हुन ।
राप्रपा सहित अन्य केही दलहरुले समेत सो दिनलाई राष्ट्रिय दिवका रुपमा मनाइनु पर्ने भन्दै सार्वजनिक बिदा दिन माग गर्दै सरकारलाई आग्रह गरेका छन ।