काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विखण्डनकारी चरित्रका नागरिकको नागरिकता खारेज गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा भण्डारीले नेपालमा अराजकता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै राष्ट्रको हितमा आँच आउने खालका काम गर्नेहरुको नागरिकता खारेज गर्नुपर्ने बताएका हुन् ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै भण्डारीले भने,“संसारमा यति अराजक र भ्रष्ट कहीँ पनि छैन । स्वर्गलाई नर्क बनाउन खोजिएको छ ।”
नेपालमा कुनै पनि नेतामा इच्छाशक्ति नभएकाले परिवर्तन हुन नसकेको भण्डारीको तर्क थियो । “नेतामा लगाब भएन । राष्ट्रवादी नेता कोही पनि छैनन् । सफल हुनका लागि ऋषि धमलामाजस्तो ईच्छाशक्ति र मिहिनेत हुनुपर्छ ।” भण्डारीले भने ।
नेपालका युवा नेताहरुले पनि हाइ काढ्ने काममात्रै गरेको भन्दै भण्डारीले आलोचना गरे । युवा नेताहरुले बूढा नेताहरुको लगौँटी समातेर राजनीति गर्ने गरेको भण्डारीको जिकिर थियो ।
साक्षात्कारमा सत्तारुढ दल नेकपाका नेता तथा सांसद यज्ञराज सुनुवारले बलात्कारी र भ्रष्टाचारीलाई फाँसीको सजाय हुनुपर्नेमा जोड दिए ।
पछिल्लो समय नेपालमा हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारका घट्ना बढ्दै गएको भन्दै त्यसलाई रोक्नका लागि मृत्युदण्ड दिनुपर्ने सुनुवारको माग थियो ।
अहिलेको सरकारबाट ठूलो परिवर्तनको अपेक्षा राख्नु स्वभाविक भएको भन्दै उनले ५ वर्षमा गर्ने काम ६ महिनामै गर्न सकेन भनेर असफल भन्न नहुने तर्क गरे ।
सरकार बनेको छोटो अवधीमा नै १६ वटा मौलिक हक, नीति, कार्यक्रम र बजेट बनेको उल्लेख गर्दै सुनुवारले तिनै नीति बजेट कार्यान्वयन भएपछि परिवर्तन देखिने बताए ।
“मुलुकले दिशा समात्न लागेको छ । तर समस्या धेरै छन् । समाधान पनि हुँदै जान्छ ।”–उनले भने ।
प्रतिपक्षीको गाली र आलोचनाले कम्युनिष्ट सरकार विचलित नहुने भन्दै उनले दबाबलाई सकारात्मक रुपमा लिइने बताए । “सरकारले काम गरिरहेको छ । प्रतिपक्षीको गालीले कम्युनिष्टहरु रिसाउँदैनन् ।” सुनुवारले भने ।
नेता सुनुवारले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली स्वस्थ भएपछि स्थायी कमिटीको बैठक बसेर एकता प्रक्रिया अगाडि बढाइने जानकारी दिए । “स्थानीय तहसम्मको कमिटी निर्माण छिटै हुन्छ । अब एकता प्रक्रिया टुङ्ग्याउँछाँै ।” सुनुवारले भने ।
राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य एवम् सांसद महेन्द्र राय यादवले छठसम्म संविधान संशोधन प्रक्रिया अगाडि नबढे सरकारलाई दिएको समर्थन फिर्ता लिने स्पष्ट पारेका छन् ।
सरकारले उल्लेखनीय काम गर्न नसकेको आरोप लगाउँदै यादवले आफूहरुले प्रस्तुत गरेका मागका विषयमा सरकारले बेवास्ता गरेको जिकिर गरे ।
“संविधान संशोधनको माग पूरा गर्न छठसम्मको समय दिएका छौँ । सरकारले कार्यान्वयन गरेन भने समर्थन फिर्ता लिन्छौँ । यसको सम्पूर्ण जिम्मेवार सरकार नै हुनुपर्छ ।”–यादवले भने ।
राजनीतिक मुद्दा सम्बोधन नभएसम्म आर्थिक समृद्धि र विकास हाँसिल हुन नसक्ने उनको भनाई थियो ।
सरकार अलमल र द्धिविधामा परेको भन्दै यादवले संघीयता कार्यान्वयनमा पनि सरकार असफल भएको आरोप लगाए ।
प्रदेश सरकार सञ्चालनका लागि संघीय सरकारले बाधा पुर्याएको भन्दै यादवले संघीयता कमजोर बनाउने खेलमा सरकार नै सक्रिय हुन थालेको जिकिर गरे ।
प्रदेश २ को सरकारले प्रहरी ऐन ल्याएर संघीय सरकारलाई दबाब दिएको जानकारी दिदै उनले संघले तत्काल आवश्यक कानुन बनाएर प्रदेशलाई दिनुपर्ने माग गरे । “बलात्कारी समात्न नसक्ने सरकारले अरु के काम गर्छ ?” यादवले प्रश्न गरे ।