×

सात कम्पनी कालोसूचीमा

images

चितवन, १४ भदौ : तोकिएको समयमा काम पूरा नगर्ने सात निर्माण कम्पनीलाई भरतपुर महानगरपालिकाले कालो सूचीमा राखेको छ । महानगरको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले उनीहरुलाई कालोसूचीमा राखेको हो ।

जन कन्ष्ट्रक्सन, अर्भान कन्ष्ट्रक्सन, शिवालय विल्डर्स, अनुष्ठान कन्ष्ट्रक्सन, एकेज कन्ष्ट्रक्सन, एञ्जल निर्माण सेवा र युद्ध निर्माण सेवालाई महानगरको सिफारिसमा कार्यालयले कालो सूचीमा राखेको महानगरका सिनियर डिभिजनल इञ्जिनियर सन्तोष आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि निर्माणको जिम्मा लिएर काम सम्पन्न नगर्ने ती कम्पनीलाई कालो सूचीमा राखिएको हो । १६ वटा निर्माणको ठेक्का लिएका सात कम्पनीलाई कालो सूचीमा राखिएको उहाँले बताउनुभयो ।
 
उनीहरुलाई एक वर्षदेखि तीन वर्षसम्म कुनै पनि ठेक्का सम्झौता वा निर्माण कार्य गर्न नपाउने गरी कालो सूचीमा राखिएको इञ्जिनियर आचार्यले बताउनुभयो । “आव २०७७/७८ मा सुरु भएका ११ निर्माणका काम अझै पूरा हुन सकेका छैनन्”, उहाँले भन्नुभयो, “आव २०७८/७९ मा २० ठेक्का बाँकी रहेका छन् भने २०७९/८० मा एक सय पाँच निर्माणको ठेक्का सम्झौता भई सञ्चालनमा छन् ।”

चालु आवमा एउटा ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्नका लागि सिफारिस गरिएको छ भने छ ठेक्का सम्झौता तोड्ने अन्तिम चरणमा महानगर रहेको इञ्जिनियर आचार्यले बताउनुभयो । उहाँका अनुसार सम्झौता गरी काम नगरेका र सम्झौता गर्न नआएका निर्माण व्यवसायीको सम्झौता रद्द गर्न लागिएको हो ।

 भरतपुर महानगरले भौतिक संरचना, सडक निर्माण, कल्वर्ड, सतह ढल, ढल निर्माण, मेस जाली लगायत काम गर्दै आएको छ । जसमध्ये ८० प्रतिशत सडक निर्माणको काम रहेको उहाँको भनाइ थियो । 
 

बिहीबार १४ भदौ २०८० ०८:१५ PM मा प्रकाशित

प्रतिक्रिया