×

सुर्खेत उपत्यकामा खानेपानीका लागि पहिराको चुनौती

images

सुर्खेत-सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा खानेपानीको सङ्कट गहिरिँदो छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले अहिले एक दिनको अन्तरमा उपभोक्ताको धारामा पानी उपलब्ध गराउँदै आएको छ । वीरेन्द्रनगरमा वर्षात्का समयमा ‘छेलोखेलो’ गरेर उपभोक्ताका धारामा पानी आउनुपर्ने थियो । 

कर्णाली प्रदेशको राजधानीसमेत रहेको उपत्यकाले खानेपानीको उच्च सङ्कट व्यहोरिरहेको छ । बर्सेनि पहिरोले खानेपानीको मुख्य प्रसारण लाइन बगाउँदा उपत्यकामा खानेपानीको उच्च सङ्कट हुने गरेको हो । अन्य समयमा समेत खानेपानीको हाहाकार हुने उपत्यकाको खोनपानीका लागि पहिरो थप चुनौती बनेको छ । 

पहिराका कारण हरेक वर्ष पाइप लाइनसँगै खानेपानीका अन्य संरचनामा क्षति पु¥याउँदा सेवा प्रवाहमा चुनौती भइरहेको उक्त संस्थाका अध्यक्ष कूलमणि देवकोटाले बताउनुभयो । उहाँले यस वर्ष पनि पहिरोले मुख्य पाइप लाइनमा ठूलो क्षति पु¥याएको जानकारी दिनुभयो । 

“पहिरोले खानेपानीका संरचना बिग्रिँदा बर्सेनि ठूलो क्षतिसँगै सेवा प्रवाहमा समस्या हुन्छ”, अध्यक्ष देवकोटाले  भन्नुभयो, ‘‘झुप्रा खोलाबाट ल्याएको मुख्य प्रसारण लाइनमा पहिरोले क्षति पु¥याएपछि केही दिनयता उपत्यकाको खानेपानी वितरणमा कठिनाइ भइरहेको छ । यही असोज २ गते राति गएको पहिरोले वीरेन्द्रनगर–१३ स्थित भञ्ज्झ्याङमा १६ मिटर पाइप लाइन बगाएको थियो ।” 

पहिरोले उक्त स्थानमा तीन सय एमएमको डिआइ पाइप र अन्य संरचना भत्काएको थियो । उक्त ठाउँमा अहिले एचडिपिइ पाइप जडान गरेर पानी ल्याउने प्रयास भइरहेको छ । मुख्य पाइप लाइन नै पहिरोले बगाएपछि १० दिनयता विकल्पका रूपमा संस्थाले खुर्सानीबारी खोलाबाट सुर्खेत उपत्यकामा पानी आपूर्तिको व्यवस्था मिलाएको छ । 

“मुख्य प्रशारण लाइन मर्मत भइरहेको छ, मुख्य पाइप लाइन सञ्चालन नभएसम्मका लागि वैकल्पिक व्यवस्था गरेका छौँ । उपभोक्तालाई खानेपानी पु¥याउन वैकल्पिक उपायका रुपमा केही दिनका लागि खुर्सानीबारी खोलाबाट पाइप लाइनमा पानी हालिएको छ”, उहाँले भन्नुभयो, “त्यसबाट प्रतिसेकेन्ड ५० लिटर पानी आइरहेको छ ।” 

प्रतिसेकेन्ड ८६ लिटर पानी आपूर्ति भइरहेको पाइपलाइन पहिरोले फाल्दा मर्मतमा मात्रै झन्डै पाँच लाख खर्च हुने देखिएको अध्यक्ष देवकोटाले बताउनुभयो । भिरालो भू–बनोटबाट खानेपानीको लाइन ल्याइएकाले पहिरोले फालेका संरचना निर्माणमा प्रत्येक वर्ष रु पाँच÷सात लाख खर्च हुने गरेको छ

भिरालो जमिनका कारण बर्सेनि पहिरोले संरचनामा क्षति गर्दै आएको संस्थाका संस्थाका इञ्जिनीयर बालाराम तिवारीको भनाइ थियो । उहाँका अनुसार हाल क्षति भएको मुख्य प्रसारण लाइनको मर्मत सकिए पनि त्यसमा पानी सञ्चालन गर्न भने अझै केही दिन लाग्ने छ । मुहानमा समेत पहिरोले क्षति पु¥याएको छ । 

त्यहाँसम्म मर्मतका लागि पुग्न र सामग्री ओसार्न पहुँच मार्गमा पनि ठाउँठाउँमा गएको पहिरो पन्छाउने काम भइरहेको इञ्जिनीयर तिवारीले जानकारी दिनुभयो । “ती सबै अवरोध हटाएर आगामी शुक्रबारसम्म मुख्य लाइनमा पानी हाल्ने तयारी छ”, उहाँले भन्नुभयो, “खानेपानीको सङ्कट रहेकैबेला पहिरोले संरचनामा क्षति गर्दा सेवा प्रवाहमा चुनौती भएको छ ।”

अन्य समयमा पनि सुर्खेत उपत्यकामा पर्याप्त खानेपानी छैन । यहाँ बढ्दो जनसङ्ख्यासँगै खानेपानीको सङ्कट चुलिँदै गएको छ । हिउँदमै पानीको हाहाकार हुन्छ । झन्डै तीन लाख जनसङ्ख्या रहेको उपत्यकामा मागअनुसार पानी पुग्दैन । पहिले सुक्खा समयमा मात्रै खानेपानीको समस्या हुने उपत्यकामा अहिले बर्सात्मै हाहाकार मच्चिन्छ ।

सुर्खेत उपत्यका खानेपानी संस्थाका अनुसार औसतमा प्रतिव्यक्तिले एक सय २० लिटर दैनिक पानी खपत गर्ने हिसाबले उपत्यकामा दैनिक तीन करोड ३६ लाख लिटर पानी आपूर्ति हुनुपर्छ । बर्सात्का समयमा दैनिक एक करोड २७ लाख लिटर पानी आपूर्ति गर्नसक्ने क्षमताका मात्रै संरचना छन् । बर्सात्मा औसत ४९ लाख लिटर पानी आपूर्ति हुन्छ । 

“मौसम प्रतिकूलताका कारण संरचनाको क्षमताअनुसार पानी आपूर्ति हुँदैन, स्रोतमा पनि त्यसैअनुसारको पानी उपलब्ध हुन्छ  तर पूरै पानी आउनका लागि मौसम अनुकूल हुनुपर्छ”, अध्यक्ष देवकोटाले भन्नुभयो, “पहिरोको दीर्घकालीन रोकथाम र खानेपानी आयोजनाको नियमितताका लागि पहल थालिएको छ ।”

शुक्रबार​ १४ असोज २०७९ १२:३४ PM मा प्रकाशित

प्रतिक्रिया