हेटौडा । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँबीच प्रतिष्पर्धा हुने भएको छ । मुख्यमन्त्रीसमेत रहेका बहादुर सिंह लामाले विश्वास गुमाएपछि बागमती कांग्रेसमा दलको नेताको चयन आज हुन लागेको हो ।
यसैक्रममा संसदीय दलको नेताका लागि लामा र बानियाँले मनोनयन दर्ता गरेका हुन् । निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार मतदान आज दिउँसो २ बजेदेखि शुरु हुने भएको छ ।
यस अघि मुख्यमन्त्री लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा मतदान हुदा लामाविरुद्ध २२ र पक्षमा १५ मत परेको थियो ।
संसदीय दलको नेता चयन गर्न कांग्रेस प्रदेश कार्यसम्पादन समितिले प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाएको छ । साथै निर्वाचन समितिमा प्रदेश सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य छन् ।
यसअघि २०७९ को पुस १३ मा भएको दल नेताको निर्वाचनमा भने लामाले इन्द्रबहादुर बानियाँलाई ५ मतले पराजित गरेका थिए । बागमती प्रदेशमा कांग्रेसका ३७ सांसद छन् । कांग्रेस सभापति शेरबहादुर देउवानिकट दुवै नेता लामा र बानियाँबीचको विवादले अहिले बागमतीको सरकारनै विवादमा परेको छ ।
अर्कोतर्फ मुख्यमन्त्री लामाले संसदीय दल नेताबाट हटेपनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् । यसले बागमती प्रदेशको सरकार थप विवाद र अन्योलतातर्फ उन्मुख भएको विश्लेषण गरिएको छ ।
प्रतिक्रिया