×

रुसका धनाढ्यले आखिर आफ्नो अरबौँ डलर कहाँ लुकाइरहेका छन् ?

images

पछिल्ला थुप्रै दशकमा रुसका ओलिगार्क (कुलीन वर्ग) ले अर्बौँ डलरको अवैध आयलाई विदेश पठाएका छन् । यस्तो गरेर उनीहरूले यसबारे पत्ता लगाउन मुस्किल बनाइदिएका छन् ।

युक्रेनमा रुसको हमलापछि संसारका थुप्रै देश यो ‘डार्क मनी’ खोज्नका लागि नयाँ प्रतिबन्ध र कानुनको सहारा लिइरहेका छन् । उनीहरूको यो कदमले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका नजिक भएका यी ओलिगार्कलाई हानी हुने सम्भावना छ ।

विश्वभर रुसको कति ‘डार्क मनी’ छ ?

अमेरिकाको एउटा थिंक ट्याङ्क अटलान्टिक काउन्सिलका अनुसार रुसी जनताको विदेशमा करिब एक हजार अर्ब डलर लुकेको ‘डार्क मनी’ रहेको आशङ्का छ । संस्थाले सन् २०२० मा जारी आफ्नो रिपोर्टमा अनुमान लगाए अनुसार यो राशिको एक–चौथाइ हिस्सा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका सहयोगीसँग छ जसलाई ओलिगार्क भनिन्छ ।

उक्त रिपोर्टमा भनिएको छ, ‘रुसले यो पैसाको प्रयोग जासुसी, चरम पन्थ, औद्योगिक, जासुसी, घुस खोसी, राजनीतिक हेरफेर, दुष्प्रचार र थुप्रै अन्य कामका लागि गर्न सक्छ ।’

कहाँबाट आयो यो कालो धन ?

अमेरिकाकै अर्का एक थिंक ट्याङ्क ‘नेशनल एन्डोमेन्ट फर डेमोक्रेसी’ को दाबी अनुसार भ्लादिमिर पुटिनले नै आफ्ना नजिरकालाई यस्तो खालको पैसा बनाउन प्रोत्साहित गरेको छ । संस्थाका अनुसार पुटिनले आफ्ना सहयोगीलाई ‘राज्यको बजेटबाट चोरी गर्ने, निजी व्यवसायबाट पैसा उठाउने र नाफा कमाउने उद्यमहरू कब्जा गर्ने योजना बनाउन प्रोत्साहित गरे ।

यो संस्थाका अनुसार यस्तो तरिकाले उनीहरूले हजारौँ करोडौँमा चलिरहेको निजी कारोबारीलाई तयार गरेका छन् । रुसी विपक्षी नेता बोरिस नोम्त्सोव र भ्लादिमिर मिलोवले सन् २००४ देखि २००७ को बीचमा तेल कम्पनी गाजप्रोमको पैसाबाट पुटिन नजिकका व्यापारीहरूलाई ६० अर्ब डलर हस्तान्तरण गरेका दाबी गरेका छन् ।

इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्टले सार्वजनिक गरेको पाण्डोरा पेपर्सका अनुसार भ्लादिमिर पुटिनका नजिकका व्यापारीहरू निकै धनी भएका छन् । यसले दाबी गरे अनुसार यी व्यापारी आफ्नो सम्पत्ति यताउता पठाउन मद्दत गर्न सक्छन् ।

आखिर यी सब पैसा कहाँ छन् ?

अतीतमा यी पैसाको अधिकांश हिस्सा साइप्रस गयो किनभने त्यहाँको कर प्रणाली अनुकूल थियो । थुप्रैका लागि त्यो द्वीप ‘भूमध्य सागरको मस्को’ को रूपमा प्रचलित हुन थाल्यो । अटलान्टिक काउन्सिलका अनुसार त्यहाँ सन् २०१३ मा रुसबाट ३६ अर्ब डलर ट्रान्सफर गरियो । यीमध्ये अधिकांश पैसा त्यहाँ सेल कम्पनी (नक्कली कम्पनी) मार्फत पुगे । यी सेल कम्पनीको प्रयोग वास्तविक मालिकलाई लुकाउनका लागि गरिन्छ ।

यद्यपि, सन् २०१३ मा अन्तर्राष्ट्रिय मुद्रा कोष अर्थात् आइएमएफले साइप्रसको सेल कम्पनीका हजारौँ बैङ्क खाता बन्द गर्नका लागि मनाएको थियो । बेलायतको नियन्त्रण भएको द्वीप जस्तै ब्रिटिस भर्जिन आइल्याण्ड्स र केमेन आइल्याण्ड पनि रुसी धनको लागि मन पर्ने गन्तव्यहरू हुन् । यिनै पैसामध्ये केही लगानीका लागि न्युयोर्क र लण्डनजस्ता प्रमुख वित्तीय सहरमा पठाइन्छ ।

यस्तै, ग्लोबल विटनेसको एक रिपोर्टका अनुसार सन् २०१८ मा रुसको ओलिगार्क नजिकै यस्तै ‘ट्याक्स हेभन’ स्थानमा करिब ४५ अर्ब डलर रहेको छ । भ्रष्टाचार रोक्नका लागि काम गर्ने संस्था ट्रान्परेन्सी इन्टरनेशनलको दाबी अनुसार बेलायतमा कम्तीमा दुई अर्ब डलरको सम्पत्ति वित्तीय अपराधको आरोपको सामना गर्ने रुसी वा क्रेमलिनसँग जोडिएका मानिससँग छ ।

अर्गनाइज्ड क्राइम एण्ड करप्सन रिपोर्टिङ प्रोजेक्टद्वारा सन् २०१४ मा जारी ‘रसियन लन्ड्रोमेट’ नामको एक रिपोर्टमा रुसको सम्पत्ति शुद्धीकरणलाई व्यापकताका साथ उजागर गरिएको थियो । यो रिपोर्टमा दाबी गरिए अनुसार सन् २०११ देखि २०१४ को बिच रुसका १९ बैङ्कले ९६ देशका ५,१४० कम्पनीको २१ अर्ब डलर धनलाई कालोबाट सेतो बनाएको थियो ।

आखिर पैसा कसरी लुकाइन्छ ?

पैसा लुकाउने साधारण तरिका सेल कम्पनी नै हुन् । रुसको ओलिगार्क विदेशमा आफ्नो धन लुकाउनका लागि मुख्य रूपमा सेल कम्पनीकै सहारा लिन्छन् । अटलान्टिक काउन्सिलले भनेको छ, ‘यो ओलिगार्क धनलाई लुकाउने र त्यो लुट्नका लागि कानुनी साधन तयार गर्नका लागि विश्वकै उत्कृष्ट वकिल, अडिटर, बैंकर र लबिस्टहरुलाई नियुक्त गरिन्छ ।’

यसले भनेको छ, ‘एक ओलिगार्कसँग अफशोर ज्यूरिसडिक्सन भएका थुप्रै गुमनाम सेल कम्पनी हुन्छन् । यी बिच उनीहरूको धनको प्रवाह बिजुलीको गतिमा हुने गर्छ ।’ इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्ट्सले सन् २०१६ मा ‘पनामा पेपर्स’ प्रकाशित गरेको थियो । त्यसमा देखाइए अनुसार एउटै कम्पनीले रुसी ओलिगार्कका लागि २,०७१ सेल कम्पनी बनाइएको थियो ।

ओलिगार्कको पैसा खोज्नका लागि के भइरहेको छ ?

युक्रेनमाथि हमला पछि, पश्चिम देशले रुसको पैसा पत्ता लगाउनका लागि थुप्रै उपायको घोषणा गरेका छन् । रुसका ओलिगार्कको पैसामाथि कारबाही गर्न ‘क्लेप्टोक्याप्चर’ नामक कार्यदल गठन गरिरहेको छ । यो टास्क फोर्सलाई त्यहाँको जस्टिस डिपार्टमेन्टले सम्हाल्नेछ । यसको काम गैर कानुनी तरिकाले जुटाइएको सम्पत्ति जफत गर्नु हो ।

यस्तै, बेलायतको सरकारले अनएक्सप्लेन्ड वेल्थ अर्डर (यूडब्ल्यूओ) को उपयोग बढाउने निर्णय गरेको छ । यसमार्फत मानिसलाई बेलायतमा सम्पत्ति किन्न कहाँबाट पैसा आयो भनेर प्रमाणित गर्न बाध्य पार्न सकिनेछ । उनीहरू यसो गर्न असफल भए सम्पत्ति जफतसमेत हुनसक्छ ।

बेलायतले ‘गोल्डेन भिसा योजना’ खारेज गरेको घोषणा गरेको छ । यस अन्तर्गत देशमा ठुलो लगानी गर्ने विदेशी महानुभावहरूलाई त्यहाँ बस्ने अधिकार दिइएको थियो । रुसको पैसाको अर्को एउटा मन पर्ने स्थान माल्टाले पनि यस्तै ‘गोल्डेन पासपोर्ट’ योजना अन्त्य गरेको छ । साइप्रस र बुल्गेरियाले सन् २०२२ मा आफ्नो योजना समाप्त गरेको थियो ।

 

बीबीसी

मङ्गलबार १५ चैत २०७८ ११:४५ AM मा प्रकाशित

प्रतिक्रिया