काठमाडौं । नेपालले मैत्रीपूर्ण खेलमा दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मंगलबार बंगलादेशलाई ३-१ गोल अन्तरले हराएको हो ।
नेपालको जितमा अन्जन विष्ट नायक बने । उनको ह्याट्रिकमा नेपालले सहज जित निकालेको हो । बंगलादेशका सजाद होसेनले एक गोल फर्काए । सुरुआतमा बंगलादेश आक्रामक देखिएको थियो ।
सातौं मिनेटमा गोलकिपर किरण चेम्जोङ अघि बढेको अवस्थामा सुमन अर्यालले हेडरबाट क्लियर गर्न खोजेको बल आफ्नै पोस्टतर्फ गएको थियो । तर, गोललाइन नजिकै रहेका रोहित चन्दले बल क्लियर गर्दै गोल हुनुबाट जोगाए ।
खेलको १७ औं मिनेटमा पेनाल्टी बक्सको नजिकबाट बंगलादेशका कप्तान जमल भुयानको उत्कृष्ट फ्रिकिक क्रसबारमा लाग्दै बाहिरिएको थियो । तर, सेट पिसमा उत्कृष्ट देखिएको नेपालले खेलको १८ औं मिनेटमा अन्जनको गोलबाट सुरुआती बनाएको थियो । विमल घर्ति मगरको फ्रिकिकमा अन्जनले हेडरमार्फत गोल गरेका हुन् । २६ औं मिनेटमा बंगलादेशका साजाद होसेनको प्रहार नेपालका गोलकिपर किरणले बचाए।
२७ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । विमलले उपलब्ध गराएको बलमा तेज तामाङले प्रहार गरेको बल बंगलादेशका गोलकिपर अनिसुर रहमानले पन्च गर्दै बाहिर फाले । त्यहिँ रिबाउन्ड बलमा अन्जनले उत्कृष्ट फिनिस गर्दै पोस्टको जाली चुमाए ।
३८ औं मिनेटमा अन्जनले ह्याट्रिक पूरा गर्दै नेपाललाई ३-० को अग्रता दिलाए । नुतुनले विमललाई फउल गरेपछि नेपालले फ्रिकिकको अवसर पाएको थियो । जसमा विशाल राईको फ्रिकिकमा अन्जनले हेडमार्फत उत्कृष्ट गोल गरे ।
यससँगै अन्जन नेपालका लागि अन्तराष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने छैटौं खेलाडी बनेका छन् । राष्ट्रिय टोलीका लागि अन्जनको यो १० औं गोल समेत हो ।
प्रतिक्रिया