काठमाडौं । तत्कालीन नेकपा माओवादी १० वर्षे सशस्त्र संघर्षमा हुँदा साम्प्रदायिक मुद्दामा निकै लचिलो थियो । उसले साबिकका ५ विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्लामा आफ्नो छुट्टै सांगठानिक संरचना निर्माण गरेको थियो ।
पार्टीका नेता तथा कार्यकर्ताहरूको कार्य विभाजनमा सहजता होस् भन्नका लागि माओवादीले भौगोलिक एवं सांस्कृतिक संरचना निर्माण गरेको थियो । जसअन्तर्गत ताम्सालिङ, मगरात, लिम्बुवान, खस लगायतका सांगठानिक संरचना तयार पारेरै नेता तथा कार्यकर्ताहरूलाई परिचालन गरेको थियो ।
आफ्नो संघर्षलाई सफल पार्न उसले जातीय, भौगोलिक तथा साम्प्रदायिक संरचना निर्माण गरेको थियो । जसको जगमा टेकेर उसले पहिचानसहितको संघीयता देशका लागू गर्न खोजेको थियो ।
तर, शान्ति सम्झौता र २०६२÷०६३ को जनआन्दोलनसम्म आइपुग्दा माओवादीले संघर्ष त्यागेसँगै यी सबै मुद्दा छोडिसकेको थियो । तथापि जनताले भने त्यसको याद मेटेका छैनन् । उनीहरूले सशस्त्र संघर्षको झल्को दिनेगरी बारम्बार आन्दोलन, धर्ना दिइरहेका छन् ।
यसको विशेष झल्को अन्य प्रदेशको हकमा भन्दा पनि कोशीमा प्रष्ट देखिन्छ । उक्त प्रदेशमा पहिचानको नाममा विगत चार महिनायता आन्दोलन जारी छ । पहिचानवादीहरूले कोशी प्रदेशको नामाकरणमा असन्तुष्टि जनाएका छन् ।
उनीहरूले पहिचानसहितको नामाकरण हुनुपर्ने भन्दै आन्दोलित छन् भने केहीले ज्यानसमेत गुमाएका छन् । यसले विग्रहको रूप लिनसक्ने भन्दै दलहरू सजग बनेको देखिन्छ ।
सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका अन्य दलहरू पनि पहिचानवादीसँग सजग देखिएका छन् भने उसको माग सम्बोधन नगर्ने पक्षमा दलहरू प्रष्टै छन् ।
यसका लागि अन्य दल मौन बसेका छन् । यद्यपि सत्तारूढ दल माओवादी केन्द्रले भने यसबारे सोच्ने भएको छ । उसले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खलल हुन लागेको भन्दै यसप्रति सचेत हुनुपर्ने निष्कर्ष निकालेको छ ।
आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा उसले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै सचेत हुनुपर्ने निष्कर्ष निकालेको हो ।
बैठकको समापन पश्चात् सञ्चारकर्मीहरूसँग संवाद गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले भने– ‘देशका विभिन्न भागमा देखा परेको धार्मिक तथा साम्प्रदायिकता खल्बलिने गतिविधिबारे बैठकमा गम्भीर छलफल भएको छ । यसबारे हाम्रो पार्टी गम्भीर बनेको छ । हामीले यतिबेला सरकारको नेतृत्व गरिरहेकोले यसबारे सोच्नुपर्ने देखिन्छ । देशमा धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल हुन लागेकोले यसप्रति हामी सचेत छौँ ।’
तथापि १० वर्षे सशस्त्र संघर्षमा देशका ७७ वटै जिल्लामा पहिचानको नारा दिएर जनतालाई साथमा लिएको माओवादी यतिबेला मौन जस्तै बनेको छ । उसले कोशी प्रदेशमा भइरहेको आन्दोलन र हिंसात्मक घटनामालाई रोक्न आज पार्टी पदाधिकारीको बैठक आह्वान गरेको थियो ।
बैठकमा प्रवक्ता सापकोटाले देशमा अराजकताको संकेतहरू देखापरेको भन्दै त्यसलाई गम्भीरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने बैठकबाट निष्कर्ष निकालिएको बताएका छन् । सामाजिक सद्भाव कायम गर्न सबैले गम्भीरतापूर्वक लाग्नुपर्नेमा बैठकले जोड दिएको समेत बताएका छन् ।
सापकोटाले भने– ‘देशका विभिन्न भागमा देखा परेको धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिने कुराबाट जोगिएर सद्भाव कायम गर्नुपर्ने बताएका छन् । ‘नेपालीहरूमा सामाजिक सद्भाव पहिलेदेखि धेरै राम्रो छ । सामाजिक सद्भाव कायम गरिराख्नु पर्छ । अराजकताका संकेतहरू देखापरेका छन् । त्यसलाई बेलैमा गम्भीरतापूर्वक लिएर समाधान गर्ने दिशातिर जानुपर्छ । बेलैमा हरेक कुरालाई सम्बोधन गरियो भने समाधान हुन्छ । समयमै समाधान गर्ने पहलकदमी नलिए विकराल रूप लिनसक्छ । त्यसैले बेलैमा सचेत गर्नुपर्छ भनेर छलफल भयो ।’
जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा पनि पार्टीले सामाजिक सद्भाव कायम राख्न सबै पार्टीपंक्ति गम्भिरतापूर्वक लाग्नुपर्नेमा जोड दिएका छन् । सरकारले सुशासनको क्षेत्रमा र भ्रष्टाचार नियन्त्रणमा पहलकदमी लिइरहेको बेला सरकारलाई भरपूर साथ दिन सापकोटाले अपिल गरेका छन् ।
प्रतिक्रिया