काठमाडौं । एसीसी यू–१६ इष्ट जोन कप क्रिकेटमा नेपालले थाइल्याण्डमाथि २२५ रनको विशाल जित हात पारेको छ । मलेसियाको बाँगीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा आठ विकेट गुमाउँदै दुई सय ६९ रनको योगफल बनाएको थियो । जवाफी व्याटिङमा उत्रेको थाइल्याण्ड १३ ओभर २ बलमा अलआउट भयो । उसले ४४ रन मात्रै जोड्न सक्यो ।
थाईल्यान्डका ईशानले १२ बलमा ३ चौकासहित सर्वाधिक १६ रन बनाए । अरु ९ जना खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका सन्तोष यादवले ह्याट्रिकसहित ५ विकेट लिए । त्यस्तै अशोक धामीले ३ विकेट लिए । अभिषेक तिवारीले २ विकेट लिए ।
त्यसअघि मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको थियो । पहिला ब्याटिङ गरेको नेपालका लागि ३५ ओभरमा २६९ रन बनाउने क्रममा ओपनर निरजकुमार यादवले सूर्यान्शु कोइरालासँग ११० रनको साझेदारी गरेका थिए ।
निरज ४३ बलमा ७४ रन बनाउँदै आउट भए भने सूर्यान्शु ४० रनमा पभेलियन फर्के । नरेन भट्टले ४३ बलमा ५५ रन बनाए । यस्तै सन्तोष यादवले ४२ रनको योगदान गरे । समूह ‘ए’ मा नेपाल, थाईल्यान्ड र मलेसिया छन् । समूह ‘बी’ मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेसिया छन् ।
समूह ‘ए’ को पहिलो खेलमा मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले पराजित गरेको थियो । नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा पर्सि शुक्रवार मलेसियासँग खेल्नेछ । सेमिफाइनल जुलाई ३ तारिख र फाइनल ४ तारिखमा हुनेछ ।
प्रतिक्रिया