काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले सरकारले शिक्षकहरुमाथि गरेको बर्बरता निन्दनीयमात्रै नभएर घृणितसमेत रहेको बताएका छन् । आज (सोमबार) बिपी कोईराला सोसलिस्ट इन्टरनेशनल नेपालद्वारा आयोजित ‘विपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दैै उनले सरकारको त्यसप्रकारको रवैया कांग्रेसले सहन नसक्ने बताए ।
‘शिक्षकहरूमाथि जुन बर्बरता हिजो सरकारले गर्यो, त्यो निन्दनीय मात्रै छैन, घृणित पनि छ । यो नेपाली कांग्रेस जस्तो पार्टीले सहन सक्दैन,’– नेता कोइरालाले भने ।
नेता कोइरालाले नेता तथा कार्यकर्तालाई सरकारले गरेको गलत र कमीकमजोरीमाथि औँला उठाउन आग्रह गरे । उनले सरकारको गलत र कमीकमजोरीमा औंला उठाउन सकेको खण्डमा मात्रै पार्टीलाई बलियो बनाउन सकिने उनले बताए ।
साथै, फरक प्रसंगमा उनले पार्टीको १५औँ महाधिवेशन आगामी मङ्सिरमा हुनुपर्ने भए पनि कोही पदाधिकारीले चासो नदेखाएको भन्दै चिन्ता व्यक्त गरे । पार्टीका भ्रातृ संस्थाहरू पनि लथालिङ्ग भएको र यस्तो अवस्थामा पार्टी चल्न नसक्ने उनको भनाइ छ ।
‘कांग्रेसको कुरा गरौँ, भ्रातृ संस्थाहरू लथालिङ्ग छ । महाधिवेशन २०८२ को मङ्सिरमा हुनुपर्ने हो । तर हुन्छ-हुँदैन, कोही नेतृत्व -पदाधिकारीहरू बोल्नुहुन्न । यसरी त पार्टी पनि चल्दैन, मुलुक पनि चल्दैन,’– उनले भने ।
नेता कोइरालाले जनतालाई प्रधानमन्त्री हुने, को मन्त्री हुनेसँग सरोकार नरहेको बताउँदै उनीहरुले अहिले ‘भ्रष्टाचार रोक र भ्रष्टाचार हुन नदेऊ’ भनिरहेको बताए ।
प्रतिक्रिया