×

सुरु भयो रामलीला महोत्सव

images


बडादसैँको सुरुआतसँगै नेपालगञ्जमा ऐतिहासिक रामलीला महोत्सव सुरु भएको छ । नेपालगञ्ज–९ स्थित रामलीला मैदानमा विशेष समारोहका बीच गए रातिदेखि रामलीला महोत्सव सुरु भएको हो । नेपालगञ्जको रामलीला महोत्सव यो वर्ष एक सय ५५ औँ वर्षमा प्रवेश गरेको छ । विजयादशमीका अवसरमा मञ्चन हुने ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला महोत्सव यो वर्ष भव्यताका साथ सुरु भएकोे रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार, एक सय ५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको एक सय ५३ र एक सय ५४ औँ वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण स्थगित गरिएको थियो । रामलीला मैदानमा हरेक वर्ष घटस्थापनादेखि विजया दशमीसम्म ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला भव्यरुपमा मनाउने गरिन्छ । 

घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ बजेदेखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ । रामलीला मञ्चनका लागि भारतको वृन्दावन धामको ब्रज रासलीला एवं रामलीला मण्डल नेपालगञ्ज आएको छ । मण्डल सञ्चालक राधारमण शर्मा नेतृत्वको २१ सदस्यीय कलाकार टोलीले भगवान् राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाटकीयरूपमा प्रस्तुत गरिरहेका छन् । 

रामलीलाको मञ्चन राज्याभिषेकअर्थात् विजयादशीको रातिसम्म चल्ने रामलीला सञ्चालक समितिका अध्यक्ष कनोडियाले जानकारी दिनुभयो । यसक्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको उहाँको भनाइ छ । 

नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हँुदै आएको यो कला नेपालीभन्दा बढी सीमावर्ती भारतीयबीच लोकप्रिय छ । भारतको उत्तरप्रदेशबाट समेत हजारौँ श्रद्धालु रामलीला दर्शनका लागि आउने गरेको रामलीला सञ्चालक समिति सदस्य नन्दलाल वैश्यले उल्लेख गर्नुभयो । 

मङ्गलबार ११ असोज २०७९ ०१:५६ PM मा प्रकाशित

प्रतिक्रिया