काठमाडौं । छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेकाले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । कामका लागि भारत गएकाहरु वैशाख ३० गतेको पालिका चुनावका लागि विभिन्न सीमा नाका हुँदै घर गाउँ फर्किन थालेका छन् ।
यस्तै, चुनावकै कारण चहल पहल बढेको छ भने भीडभाड समेत बढ्न थालेको छ । यसले गर्दा कोरोना भाइरसको संक्रमण नेपालमा पनि फेरि फैलिने जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो ।
भारतबाट गाउँ घर फर्किनेहरुलाई कम्तिमा पनि एक हप्ता निगरानीमा बस्न मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीको आग्रह छ । भारतका जोखिमयुक्त क्षेत्रबाट फर्किएकाहरु अझ बढी सचेत हुनुपर्ने उनले बताए ।
एक हप्तासम्म परिवारका सदस्यसँग घुलमिल नगर्न, कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिना साथ परीक्षण गर्न र कोरोना विरुद्धको खोप लगाउन छुटेको भए खोप लगाउन उनको सुझाव छ ।
यस्तै, सकेसम्म भीडभाडमा नजान तथा जानै परे मास्क लगाउन र भौतिक दूरी कायम गर्न स्वास्थ्य मन्त्रालयको आग्रह छ ।
यस्तै, टाइफाइड विरुद्धको खोप अभियानका कारण कोरोनाको बुस्टर डोज लगाउन स्थगित भएका ठाउँमा फेरि कोरोनाको खोप लगाउन थालिएको छ । कोराना विरुद्धको खोपको दुई मात्रा लगाएकाहरुलाई बुस्टर डोज लगाउन मन्त्रालयको आग्रह छ ।
प्रतिक्रिया