काठमाडौं । नेपालले यू–१९ विश्वकप एसिया रिजन छनोटमा लगातार तेस्रो जित निकालेको छ। ओपनर आकाश त्रिपाठीको अर्धसतक प्रहारसंगै नेपालले हङकङलाई ९ विकेटले पराजित गर्दै तेस्रो जित निकालेको हो ।
दुबईको अजमनस्थित मालेक क्रिकेट मैदानमा हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२.१ ओभरमा एक विकट गुमाउँदै पुरा गर्यो । ओपनर आकाश त्रिपाठीले सर्वाधिक ६४ रनको अविजित इनिङ खेल्दा उत्तम थापा मगर ३९ रनमा अविजित रहे । अर्का ओपनर अर्जुन कुमाल भने १६ रनमा पेभिलीयन फर्किए ।
यसअघि, ब्याटिङ गरेको हङकङका पर्थ भागवतले सर्वाधिक ३६ रन बनाए, मोहमद अलियान जाहिर २९ रन बनाएर आउट हुँदा आहान त्रिवेधी ११ रनमा अविजित रहे ।
नेपालको बलिङमा हेमन्त धामीले सर्वाधिक तीन विकेट लिए । आकाश चन्दले दुई सुबास भण्डारीले दुई तथा उप कप्तान दिपेश कँडेलले एक विकेट लिए ।
पहिलो खेलमा सिंगापुरलाई ९६ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले हराउँदै लगातार दोस्रो जित निकालेको थियो ।
हङकङ, मलेसिया, सिंगापुर, यूएई र कुवेत सम्मिलित प्रतियोगितामा नेपालले चौथो खेल मङ्गलवार मलेसिया र अन्तिम खेलमा बिहीबार घरेलु टिम यूएईको सामना गर्नेछ । सिंगल राउन्ड रोबिन पद्धतिमा हुने खेलको विजेता टिमले २०२४ मा श्रीलंकामा आयोजना हुने यू–१९ विश्वकप खेल्नेछ ।
प्रतिक्रिया