×

गठबन्धन पाँच वर्ष नै जान्छ, कसैले भ्रम नपाल्दा हुन्छ : प्रधानमन्त्री

images

रूकुम पश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड"ले संयुक्त राष्ट्रसंघका महासचिव केही दिनमा नेपाल आउने बताउनुभएको छ ।

बिहीबार दिउँसो रूकुम पश्चिमको बाफिकोट गाउँपालिकामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८० को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, "यो माओवादीको एकल सरकार होइन, संयुक्त सरकार हो। तर, गठबन्धन भत्काउन टुटाउन, तोड्न अनेकौं प्रयत्न भएका छन् । तर, उनीहरू सक्दैनन्। म तपाईलाई जोड दिएर भन्छु- यो गठबन्धन पाँचै वर्ष जान्छ । गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै सक्दैन। कसैले भ्रम नपाल्दा हुन्छ ।"

अर्को प्रसंगमा प्रधानमन्त्रीले भन्नुभयो, "संयुक्त राष्ट्रसंघको महासभामा जाँदा मैले राष्ट्रसंघका महासचिवलाई नेपाल भ्रमणको निम्तो दिएको थिएँ ।

जलवायु परिवर्तनले नेपाललाई पारेको नकारात्मक प्रभाव आफ्नै आँखाले हेरिदिनुस् भनेको थिएँ । मेरो निम्तो स्वीकारेर उहाँ नेपाल आउँदै हुनुहुन्छ । यसले विश्वको ध्यान नेपालमा खिच्नेछ । यो नेपालका लागि महत्त्वपूर्ण अवसर हो ।"

"कतारका राजा पनि नेपाल आउँदै हुनुहुन्छ । हामीले वैदेशिक लगानीलाई व्यवस्थित गर्न उहाँलाई निमन्त्रणा गरेका छौं" प्रधानमन्त्रीले भन्नुभयो, "कतार उदीयमान मुलुक हो । उ नेपालमा लगानी गर्न इच्छुक छ । यसका लागि हामीले सकारात्मक पहल गरेका छौं ।"

"क्रान्तिकालमा नेतृत्वलाई अप्ठ्यारो पर्दा रूकुम, रोल्पा, सल्यान, जाजरकोट जाने गर्थें । तपाईहरूले क्रान्तिको रक्षा गर्नुभयो, नीति र नेतृत्वको रक्षा गर्नुभयो । शान्ति प्रक्रियापछि पनि तपाईंहरूसँग बढी आएको छु । यो आधार इलाकाबाट उर्जा लिएर फर्किने गरेको छु । मलाई नयाँ शक्ति प्राप्त भएको अनुभूति हुन्छ" प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, "म प्रधानमन्त्री भएपछि मिटरब्याज पीडित किसानहरूका पक्षमा कानुन बनेको छ । लाखौं मिटरब्याज पीडित जनताले न्याय पाएका छन्, भ्रष्टाचारविरोधी अभियान नयाँ शिराबाट अगाडि बढाइएको छ । देशको स्वाधीनता र समृद्धिका लागि कुटनीतिक पहल गरिएको छ ।"

अर्को प्रसंगमा प्रचण्डले भन्नुभयो, "विचारको प्रश्न सबैभन्दा माथि हुन्छ । पहिला प्रचण्डपथ थियोे, त्यसले हामी सबैलाई केन्द्रीकृत र एकीकृत गरेका थियौं । अहिले अलिकति अनेकता देखिएको छ । फेरि हामी विचार संश्लेषण गर्छौं र नयाँ विचारसहित अगाडि जान्छौं ।"

"कर्णालीको विकास मेरो प्राथमिकतामा छ" प्रधानमन्त्रीले भन्नुभयो, "शान्ति प्रक्रियापछि रूकुमको मुहार फेरिएको छ । विकास निर्माणका धेरै काम भएका छन् । तर, ती पर्याप्त छैनन् । आगामी दिन रूकुमको विकास उच्च प्राथमिकतामा रहनेछ।"

कार्यक्रममा पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिवद्वय जनार्दन शर्मा, मातृकाप्रसाद यादव, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो ।

बिहीबार ९ कात्तिक २०८० ०५:०५ PM मा प्रकाशित

प्रतिक्रिया