मेलबर्न । लगातारको वर्षाका कारण ट्वान्टी ट्वान्टी विश्वकप सुपर–१२ ग्रुप–वानको न्युजिल्यान्ड र अफगानिस्तानबीचको खेल बुधबार निराशाजनक रूपमा हुन सकेन् । अस्ट्ेरलियामा अहिले वर्षाको मौसम रहेको हुनाले प्रतियोगिता विथोलिने डर रहेको छ । एक बल पनि नखेलेर प्रतिस्पर्धा सकिएको यो नै यसपल्टको प्रतियोगिताको पहिलो खेल हो र यससँगै दुवै टिमले एक एक अंकमा चित्त बुझाएका छन् ।
यसअगाडि ग्रुप–टुमा दक्षिण अफ्रिका र जिम्बावेबीचको खेल पनि पूरा हुन सकेको थिएन् र प्रतिस्पर्धा नतिजाविहीन रह्यो । त्यस खेलमा दक्षिण अफ्रिकाको इनिङ्सले पाँच ओभर पूरा गर्न पाएको थिएन् । बुधबारको पहिलो खेल पनि वर्षाले प्रभावित रह्यो र त्यसको फाइदा आयरल्यान्डलाई रह्यो । यसक्रममा उसले इंग्ल्यान्डलाई पाँच रनले स्तब्ध पार्न सफल रह्यो ।
आयरल्यान्डको जित डकवर्थ लेविस नियम अनुसार सम्भव भएको हो । वर्षाले खेल रोकिंदा इंग्ल्यान्डले पाँच विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । यो नतिजाले इंग्ल्यान्डको सेमिफाइनल पुग्ने सम्भावना कमजोर हुन सक्नेछ । यो नतिजापछि आयरल्यान्ड सुपर–१२ को ग्रुप–१ मा पहिलो जित निकाल्न सफल रह्यो ।
पहिले ब्याटिङ गरेको आयरल्यान्डले १९.२ ओभरमा अलआउट हुन अगाडि १ सय ५७ रन बनाएको थियो । ग्रुप–वानका सबै छ टिमले दुई दुई खेल खेलिसक्दा न्युजिल्यान्ड तीन अंकमा शीर्ष स्थानमा छ । त्यसपछि समान दुई अंकमा श्रीलंका, इंग्ल्यान्ड, आयरल्यान्ड र अस्ट्ेरलिया रहेका छन् । अफगानिस्तान भने अहिलेसम्म जितहीन रहेको छ र उसको एक अंक मात्र रहेको छ ।
प्रतिक्रिया