काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
आज (बिहीबार) नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले दिएको जानकारी अनुसार छुट्टाछुट्टै सवारी साधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
नुवाकोट बेलकोटगढी नगरपालिका–७ बुद्धसिङ घाटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आज (बिहीबार) बिहान बा ४ ख ५७९३ नम्बरको बसले बा प्र ०३–००४ प ९२१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोही ठाउँ बस्ने ५० वर्षीया साबित्र अधिकारीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल त्रिशुली नुवाकोटमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई सोही अस्पताल हुँदै थप उपचारका लागि ट्रमा रिफर गरिएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै डडेल्धुरा गन्यापधुरा गाउँपालिका–३ चम्कोटस्थित केआईसिंह राजमार्गमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
हिजो (बुधबार) राति सवारीको ठक्करबाट सोही ठाउँ बस्ने ६० वर्षीय राजु देउवाको मृत्यु भएको छ ।
सवारीको ठक्करबाट गम्भीर घाइते भएका उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित सडकमा ना १ क ६०५५ नम्बरको क्रेन अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा क्रेनका सह–चालक पर्सा वीरगञ्ज महानगरपालिका–३० बिश्रामपुर बस्ने १८ वर्षीय विपिन महत्तोको मृत्यु भएको छ ।
साथै दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यसैगरी सर्लाही ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित सडकमा बीआर ०६ बीके ५३३१ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय महलाजिम अंसारीको बुधबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बयलबासस्थित अमृत हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको बयलबासस्थित सिद्धि बिनायक अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया