×

राष्ट्रिय ललितकला प्रदर्शनी जेठ १५ गते हुने 

images


काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले, राष्ट्रिय ललितकला प्रदर्शनी  गणतन्त्र दिवसको अवसर पारेर आयोजना गर्ने भएको छ । 
नेपाल ललितकला प्रतिष्ठानमा नयाँ नेतृत्व आएको झन्डै एक महिनापछि आइतबार आयोजित पत्रकार सम्मेलनमा ३६ बुँदे अवधारणा पत्र सार्वजनिक गर्दै प्रतिष्ठानले यसअघि हरेक वैशाख २ गते हुँदै आएको प्रदर्शनी जेठ १५ गते गणतन्त्र दिवसको दिन आयोजना गर्ने जानकारी दिएको हो । 
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्कीलेले, गणतन्त्र दिवसलाई राष्ट्रिय पर्वको रूप दिन प्रदर्शनी गर्ने समय सारिएको बताए । 
राष्ट्रिय ललित कला प्रदर्शनीका कार्यकारी संयोजक उपकुलपति, लालकाजी लामाले हालसम्म कला प्रदर्शनीका लागि  ३ सय १४ जना कलाकारको ३ सय ८९ वटा कला प्राप्त भएको जानकारी दिए । 
उनले प्रदेशहरूबाट पनि कलाहरू सङ्कलन भइरहेको र अझै प्रदर्शनीमा सहभागी हुन चाहनेहरू आउने क्रममा रहेको जानकारी दिए । 
पत्रकार सम्मेलनमा प्रतिष्ठानले, राष्ट्रिय ललितकला प्रदर्शनी, ललितकला सम्मेलन, सगरमाथा काठमाडौँ कन्टेम्पोरेरी आट समिट, कला ग्राम निर्माण, मूर्ती उद्यान निर्माण, कलाकार कल्याणकारी कोष निर्माण लगायतका काम सुरु गर्ने गरी अल्पकालीन तथा दीर्घकालीन अवधारणा सार्वजनिक गरेको छ । 
कार्यक्रममा सदस्य सचिव थुम्कीलेले, नयाँ नेतृत्वले अबको ४ वर्षमा गर्ने कामबारे योजनाबद्ध रूपमा आफ्ना अवधारणा अघि सारेको बताए । उनले कलालाई अर्थ उपार्जनसँग जोड्न आवश्यक पहल गर्ने दाबी गरे । 
उनले भने, “विश्वका राम्रा सहरमा सडक छेउमा मूर्तिहरू राखिएको हुन्छ । यसले कला संस्कृतिलाई जगेर्ना गरिरहेको छ । कला प्रवर्द्धनमा सङ्घीय र प्रदेश सरकारसंग मिलेर काम गर्ने हाम्रो लक्ष्य छ । कला क्षेत्र लाई पर्यटनसंग जोडेर अर्थ उपार्जन  गर्न सकिन्छ । आन्तरिक ग्यालरी र बाध्य ग्यालरी संग समन्वय गरेर हामीले यसलाई अर्थ उपार्जनसँग जोडन आवश्यक छ ।”
उनले सातै प्रदेशमा कलाको हब बनाई स्थानीय सरकारसंग अनौपचारिक ढङ्गले छलफल भइरहेको पनि जानकारी दिए । 
ललित कला प्रज्ञा प्रतिष्ठानको आगामी प्राज्ञ सभाबाट नीतिगत रूपमा सम्बोधन गरेर  यी योजनालाई आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा लैजाने लक्ष्य राखिएको उनको भनाई छ। 
ढुंगा, काठ, माटो आपूर्तिलाई हल गरी  त्यसलाई व्यवस्थित तरिकाले अघि बढाउने कानुनी झन्झट हटाउन पहल गर्ने  दीर्घकालीन समाधान तर्फ अधि बढ्ने बताए ।
कला, कृति खरिदमा राज्यले करमा छुट दिए सरकारसंग नीतिगत रूपमा मिलेर काम गर्ने जानकारी दिए ।
उनले भने, “एसिया स्तरको सङ्ग्रहालय बनाउने  योजना रहेको छ । नेपालमा विकसित पुराना देखि नयाँ झल्कने मूर्ति राखी एसिया स्तरको ठुलो सङ्ग्रहालय बनाउने लक्ष्य छ । अहिले निर्माण भइरहेको भवन को ७० प्रतिशत काम सकियो ३० प्रतिशत काम बाँकी छ ।”
पत्रकार सम्मेलनमा प्रतिष्ठानका कुलपति, नारदमुनी हार्तम्छालीले, प्रतिष्ठानलाई आवश्यक नीति निर्माण र  अनुसन्धानमूलक काममा सबैको सहयोग आवश्यक रहेको बताए । 
नेतृत्व अनुसन्धान, सिर्जना र सम्मान भन्ने नाराका साथ आफूहरू अघि बढेको भन्दै उनले सञ्चार क्षेत्रको आवश्यक सहयोगको अपेक्षा गरेको सुनाए । 


 

आइतबार​ १२ चैत २०७९ ०६:४१ PM मा प्रकाशित

प्रतिक्रिया