×

१७८० अर्बभन्दा बढी तरलता प्रवाह, पौने दुई अर्बको रेमिट्यान्स

images

चालु आर्थिक वर्ष २०७९-८० को दुई महिनामा विभिन्न सुविधामार्फत १७८० अर्ब दुई करोड रुपियाँ तरलता प्रवाह गरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार समिक्षा अवधिमा रिपोर्टमार्फत १११ अर्ब ५७ करोड रुपियाँ, सोझै खरिद बोलकबोलमार्फत १४ अर्ब ८५ करोड रुपियाँ र स्थायी तरलता सुविधामार्फत १६५३ अर्ब ६० करोड रुपियाँ गरी कुल १७८० अर्ब दुई करोड रुपियाँ तरलता प्रवाह गरिएको हो ।

समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ७८ करोड ९४ लाख रुपियाँ खुद खरिद गरी १०० अर्ब ४६ करोड रुपियाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३९ लाख खुद बिक्री गरी ३० करोड तरलता प्रशोचन गरिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलर ९२ करोड बिक्री गरी ११७ अर्ब २३ करोड रुपियाँ बराबरको भारतीय रुपियाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ५८ करोड बिक्री गरी ६८ अर्ब ८२ करोड रुपियाँ बराबरको भारतीय रुपियाँ खरिद भएको थियो ।

पौने दुई अर्बको रेमिट्यान्स
चालु आर्थिक वर्षको दुई महिनामा एक खर्ब ८७ अर्ब रुपियाँ बराबरको रेमिट्यान्स नेपालमा भित्रिएको छ । राष्ट्र बैंकको आर्थिक वर्ष २०७९-८० को दुई महिनाको तथ्याङ्कका अनुसार समीक्षा अवधिमा रेमिट्यान्स  आप्रवाह १९.८ प्रतिशतले बृद्धि भएर एक खर्ब ८७ अर्ब चार करोड रुपियाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा भने रेमिट्यान्स आप्रवाह ५.८ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ११.३ प्रतिशतले बृद्धि भई एक अर्ब ४७ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १६९.९ प्रतिशतले बृद्धि भई एक लाख तीन ८९८ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशतले बृद्धि भई ३९ हजार १८९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४२९.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १९.५ प्रतिशतले बृद्धि भई २०६ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.० प्रतिशतले घटेको थियो ।

कुल आन्तरिक कर्जा बढ्यो
आर्थिक वर्ष २०७९÷८० को दुई महिनामा कुल आन्तरिक कर्जा ०.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.१ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७९ भदौ मसान्तमा यस्तो कर्जा ११.६ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ६.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ भदौ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ८.२ प्रतिशतले बढेको छ ।

निक्षेप परिचालन घट्यो
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ०.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ०.७ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७९ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ७.४ प्रतिशतले बढेको छ । गत भदौमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.७ प्रतिशत, २६.५ प्रतिशत र ५८.८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.९ प्रतिशत, ३५.० प्रतिशत र ४९.२ प्रतिशत रहेको थियो । गत भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७.२ प्रतिशत रहेको छ । २०७८ भदौमसान्तमा यस्तो निक्षेपको अंश ४०.५ प्रतिशत रहेको थियो ।

१०८ अर्ब ४९ करोड रुपियाँ पुर्नकर्जा
राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७९ भदौ मसान्तमा १०८ अर्ब ४९ करोड रुपियाँ लगानीमा रहेको छ । २०७९ भदौ मसान्तसम्ममा एक लाख ४७ हजार ९२६ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई २१३ अर्ब २३ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तरगत ६० हजार ३०२ ऋणीलाई प्रवाह भएको १३९ अर्ब ६७ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८४ हजार ७ सय ९० महिला उद्यमीलाई प्रवाह भएको ७० अर्ब १० करोड रुपियाँ कर्जा बक्यौता रहेको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तरगत दुई हजार ८३४ ऋणीको तीन अर्ब ४६ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ । “व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०७९ भदौ मसान्तमा ८९ करोड ७३ लाख रुपियाँ बक्यौता रहेको छ ।

अन्तर–बैंक कारोबार
आर्थिक वर्ष २०७९÷८० को दई महिनामा वाणिज्य बैंकहरुको ५८० अर्ब ५२ करोड रुपियाँ र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को ६७ अर्ब छ करोड गरी कुल ६४७ अर्ब ५९ करोड रुपियाँको अन्तर–बैंक कारोबार भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको ५५७ अर्ब ३० करोड रुपियाँ र अन्य वित्तीय संस्थाहरुको ९१ अर्ब गरी कुल ६४८ अर्ब ३१ करोड रुपियाँको अन्तर बैंक कारोबार भएको थियो ।
 

मङ्गलबार ८ कात्तिक २०७९ ०७:४८ AM मा प्रकाशित

प्रतिक्रिया