×

राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनाले उठाए सभामुख सापकोटाको वैधतामाथि प्रश्न

images

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सभामुख अग्नि प्रसाद सापकोटाको पदावधि र सभामुखको हैसियतमा सापकोटाले गरेका निर्णयहरुमाथि प्रश्न उठाएका छन् । साथै सभामुख सापकोटा र उपसभामुख पुष्पा भुसालले आफू अनुपस्थित भएको बेला व्यवस्थापन समितिको बैठक बोलाएर गरेका निर्णय कार्यन्वयन नगर्न संसद सचिवालयलाई निर्देशन दिएका छन् ।

अध्यक्ष तिमल्सिनाको निजी सचिवालयबाट उपसचिव सुशीला आचार्यले आइतबार संसदका महासचिव डा. भरतराज गौतमलाई पत्र लेखी असोज ५ गते बसेको संघीय संसद सचिवालयको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले गरेका निर्णय कार्यन्वयन नगर्न जानकारी गराएकी छन् ।

तिमिल्सिनाले यसअघि सभामुख र उपसभामुखको पदावधि खुलाउन निर्वाचन आयोगलाई पत्र लेखेका थिए । जवाफमा आयोगले उनीहरुको र प्रतिनिधिसभाको कार्यकाल आयोगले निश्चित गर्ने विषय नभएको जवाफ पठाएको थियो ।

असोज ५ गते सभामुख सापकोटाको अध्यक्षमा बसेको व्यवस्थापन समितिको बैठकले गत पुसदेखि संसद सचिवालयमा हाजिर भएर काम गरिरहेका उपसचिवहरु सुशीला आचार्य र नुमराज खनालको नाम अनुमोदन गरेको थियो ।

लोकसेवा आयोगले नियुक्ति दिएर पठाए पनि नयाँ आउने कर्मचारीलाई संसद व्यवस्थापन समितिले अनुमोदन गर्नुपर्ने व्यवस्था भएअनुसार निर्णय भएको संसद सचिवालका अधिकारीहरु बताउँछन् ।

अध्ययनका लागि विदेश गएका सहसचिव झलक शर्मा सापकोटा, उपसचिव सिंहराज रुम्बा अधिकृतहरु मेघराज अर्याल र भानु पोखरेलले अध्ययन बिदा पनि स्वीकृत गरेको थियो । साथसाथै, संसद सचिवालयका कार्यरत कर्मचारीको नियुक्ति तथा बढुवालाई समेत अनुमोदन गरेको थियो ।

अध्यक्ष तिमल्सिना पनि व्यवस्थापन समितिमा हुन्छन् । तर उनी पर्वत गएको मौकामा पदमुक्त सभामुखको निर्देशनमा महासचिव गौतमले बैठक बोलाएर कर्मचारी पदस्थापन, विदेश अध्ययन विदा स्वीकृति लगायतका विभिन्न निर्णय गराएका थिए ।

आइतबार​ ९ असोज २०७९ ०८:३६ PM मा प्रकाशित

प्रतिक्रिया