×

२१औँ वार्षिकोत्सवसँगै नयाँ प्रतिभाको खोजीमा तामाङ समाज युएई

images

फलेन्द्र बलम्पाकी मगर / दुबई

युएई, २५ सेप्टेम्बर। तामाङ समाज युएईले आफ्नो २१औँ वार्षिकोत्सवको अवसर पारेर युएईमा रहेका तामाङ समुदायभित्रका लुकेका प्रतिभाको खोजी, पहिचान, प्रोत्साहन तथा सम्मान गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

समाजका महासचिव सविन मोक्तानका अनुसार युएईमा रहेका तामाङ समुदायका प्रतिभाशाली युवायुवतीलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

महासचिव मोक्तानका अनुसार हालसम्म नृत्य, गायन तथा ‘मिस्टर एन्ड मिस तामाङ’ प्रतियोगिताका लागि २७ जना प्रतिस्पर्धीले नाम दर्ता गराइसकेका छन्। आगामी दिनमा थप प्रतिभाहरू सहभागी हुने अपेक्षा आयोजकले गरेको छ।

युएईका सातैवटा इमिरेट्समा विभिन्न पेशा, व्यवसाय तथा रोजगारीमा आबद्ध भएर बस्दै आएका तामाङ समुदायका युवायुवतीलाई आफ्नो लुकेको प्रतिभा उजागर गर्दै सार्वजनिक रूपमा प्रस्तुत हुने यो अवसरको सदुपयोग गर्न आयोजकले आग्रह गरेको छ।

समाजले प्रतिभाको खोजीसँगै उनीहरूको क्षमता र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने तथा समुदायको कला, संस्कृति र पहिचानलाई नयाँ पुस्तासम्म जोड्ने उद्देश्यसमेत राखेको जनाएको छ।

कार्यक्रम अक्टोबर ४ तारिखका दिन बरदुबईस्थित क्लब एसके–७को सभाहलमा आयोजना हुनेछ। कार्यक्रम दिउँसो १२ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।

तामाङ समाज युएईले कार्यक्रममा समुदायका सम्पूर्ण सदस्य तथा कला–संस्कृतिप्रेमीहरूलाई उपस्थित भई प्रतिभाहरूको हौसला बढाउनसमेत आग्रह गरेको छ।

शुक्रबार​ ९ असोज २०८३ ११:२२ AM मा प्रकाशित

प्रतिक्रिया