काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जानकारी दिएका हुन् ।
हालका मुख्य सचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण मंसिर १० गते अनिवार्य अवकासमा जाँदैछन् । त्यस्तै मन्त्रिपरिषद्को बैठकले अतिरिक्त नायब महानिरीक्षक ईश्वर कार्कीलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ ।
मन्त्री पुनका अनुसार सरकारले युरोपियन युनियनको हरित ऊर्जासम्बन्धी परियोजनाका लागि २५ दशमलव ५८ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले भैरहवाका विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि २०७१ खारेज गर्दै सो क्षेत्रमा प्रतिवर्गमिटर भाडादर २० रहेकोमा त्यसलाई घटाएर ५ कायम गर्ने निर्णय गरेको मन्त्री पुनले जानकारी दिएका छन् ।
त्यसैगरी सरकारले जेनजी आन्दोलनमा घाइतेहरूका लागि स्थापना गरिएको हेल्पडेक्समा १० जना स्वयंसेवक खटाउने र मासिक १५ हजारका दरले चार महिनासम्म काममा लगाउने निर्णय गरेको मन्त्री पुनले जानकारी दिए ।
मन्त्रिपरिषद्को बैठकले भूमिसम्बन्धी नवौं संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया