नेकपा(एकीकृत समाजवादी) का उपाध्यक्ष प्रमेश हमालले आफ्नो दलको अस्तित्वका लागि आगामी सङ्घीय र प्रदेशसभा निर्वाचनमा आवश्यक सीटका लागि गठबन्धनभित्र सङ्घर्ष गरिरहेको बताउनुभएको छ । नेकपा(एस) काठमाडौँ क्षेत्र नं ४(२)का आयोजनामा आज भएको ‘प्रशिक्षण कार्यक्रम’ मा उहाँले सङ्घीय निर्वाचनमा गठबन्धनमा हालसम्म बढीमा ११५ सम्मको सीट मिलेको र प्रदेशसभासमेत गरी आइतबारसम्म सबै सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।
संसद्मा झण्डै दुई तिहाइ प्राप्त गरेको नेकपा हाल छिन्नभिन्न भएर आफ्नो अस्तित्वका लागि सङ्घर्षरत रहनुपरेकामा दुःख व्यक्त गर्दै नेता हमालले तत्कालीन नेतृत्वमा आएको गम्भीर वैचारिक भड्कावले सर्वशक्तिवान् बन्ने चाहना सिर्जना भई कम्युनिष्ट आन्दोलनका लक्ष्य, मूल्यमान्यता र आदर्शबाट च्युत हुनुपरेको विचार राख्नुभयो ।
संसद् विघटन गरिएकाले बाध्य भएर लोकतन्त्र र संविधानको रक्षाका लागि आफूहरूले गठबन्धन गर्नुपरेको जनाउँदै उहाँले भन्नुभयो, “नेकपा(एमाले)ले गल्ती सुधारेर गएमा वामपन्थी गठबन्धन अहिले पनि हुन सक्छ, हाम्रो पार्टीको मुख्य कार्यभार अझै पनि वामपन्थीहरूसँग कार्यगत एकता र एकीकरण गर्ने हो, हामी एक्लैले समाजवादी आन्दोलनमा सफल पाउन सक्दैनौँ ।”
‘दक्षिणपन्थी विसर्जनवादविरुद्धको सङ्घर्ष’ विषयमा प्रशिक्षण दिँदै पार्टी स्कुल विभागका प्रमुख हमालले कम्युनिष्ट आन्दोलन, क्रान्तिका उपलब्धि र समाजवादी कार्यदिशालाई नै प्रहार गर्ने दक्षिणपन्थी विरुद्ध निरन्तर सङ्घर्र्ष गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पार्टी उपमहासचिव डा विजयकुमार पौडेलले ‘माक्र्सवादी अर्थशास्त्र र नेपालको सामाजिक आर्थिक रुपान्तरण’ विषयमा प्रशिक्षण दिँदै दलाल पुँजीवादविरुद्ध सङ्घर्ष गर्दै कृषि र औद्योगिक क्रान्तिलाई सँगसँगै लिएर जानुपर्ने बताउनुभयो भने केन्द्रीय सदस्य तथा स्कुल विभाग सचिव अशेष घिमिरेले ‘पुँजीवादको प्रभुत्त्व र समाजवादी सङ्घर्ष’ विषयमा दिनुभएको प्रशिक्षणमा पुँजीवाद र लोकतन्त्र सँगसँगै जान नसक्ने जनाउँदै समाजवादी पार्टीका नेता–कार्यकर्ताले पुँजीवाद(साम्राज्यवाद), वर्गसङ्घर्ष, लोकतन्त्र र सैद्धान्तिक स्पष्टता जस्ता तत्त्वको ज्ञान राख्नुपर्ने सुझाव दिनुभयो ।
पार्टी केन्द्रीय सल्लाहकार सदस्य तथा प्रशिक्षण कार्यक्रमका संयोजक विष्णुप्रसाद शर्माले सङ्गठन चलाउन आवश्यक वैचारिक खुराकका लागि कार्यकर्ताहरूको मागबमोजिम कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । नेकपा(एस)काठमाडौँका सचिव धु्रवराज न्यौपाने, नेकपा(एस) केन्द्रीय परिषद् र वाग्मती प्रदेश कमिटीका सदस्य शान्तिराम ढुङ्गाना तथा नेता ठाकुर खकुरेलले वैचारिक राजनीतिक ज्ञानले मात्र कम्युनिष्ट पार्टी चलाउन सकिने बताउनुभयो ।
कार्यक्रममा काठमाडौँ निर्वाचन क्षेत्र ४ र ५ का गरी ८० नेता–कार्यकर्ताको सहभागिता थियो । यसैबीच गठबन्धनमा सामेल काठमाडौँ निर्वाचन क्षेत्र ४ का नेपाली कांग्रेस, नेकपा(माओवादी) र नेकपा(एस)को वडा(आठ)स्तरीय छलफल आइतबार साँझ हुँदैछ ।
प्रतिक्रिया