×

भ्रष्टाचारमा संलग्नलाई गिरफ्तार गरेपछि बिचौलियाहरू तिलमिलाए- अध्यक्ष प्रचण्ड

images

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमालेको गठबन्धन षड्यन्त्रमूलक ढंगले बनेको आरोप लगाएका छन्। आज (बुधबार) बिहान पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्व. नेता नरबहादुर कर्माचार्यको ११ औँ स्मृति सभालाई सम्बोधन गर्दै उनले कांग्रेस-एमालेको सरकार षड्यन्त्रमूलक, अपारदर्शी तरिकाले र बिचौलियाको पहलमा बनेको दाबी गरेका हुन्। 

‘प्रचण्डले स्मृति सभालाई सम्बोधन गर्दै षड्यन्त्रमूलक, अपारदर्शी र बिचौलियाको पहलमा वर्तमान सत्ता गठबन्धन बनेको बताउदै, उनले अव पार्टीलाई जनताका मुद्दा बोकेर जनतामा जाने अवसर प्राप्त भएको पनि बताए । 

‘सुशासन, सामाजिक न्याय र समृद्धिका लागि हामीले खेलेको भूमिका सैह्य भएन र निक्कै षड्यन्त्रमूलक, अपारदर्शी तरिकाले र बिचौलियाको पहलमा नै नयाँ गठबन्धन बनेको कुरा आम जनतामा पनि स्थापित भैसकेको छ’, प्रचण्डले भने, ‘र उनीहरूको हितमा नै यसले काम गर्छ भन्ने कुरा हामीले भनिरहनुपर्दैन, समाज र आम जनतामा पनि छर्लङ्ङ भएको छ बुझेका छन् ।’ 

आफू नेतृत्वको सरकारले सामन्ती अवशेषका रूपमा रहेको मिटरब्याजविरोधी कदम र मुलुकको आर्थिक अवस्थालाई लयमा ल्याउने पहल गरेको चित्त नबुझेपछि बिचौलियाहरू गठबन्धन परिवर्तनमा लागेको आरोप प्रचण्डले लगाएका छन्। 

उनले आफूले सरकार छाड्दा पनि आफ्ना कुरालाई सशक्त ढङ्गले संसदमा राखेर छाडेको भन्दै अहिले आफूहरू विजेता र सरकारमा गएकाहरू पराजित भएको बताए । उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचारमा संलग्न २ जनालाई गिरफ्तार गरेपछि बिचौलियाहरू तिलमिलाएको भन्दै आफूहरू जनताको मुद्दाबाट टाढा नजाने बताए ।

अध्यक्ष प्रचण्डले संविधानमा जनताले प्राप्त गरेको उपलब्धी उल्ट्याउने खतरा पनि रहेको बताए।  संविधान मिच्ने, समानुपातिक समावेशी प्रतिनिधित्वको प्रणाली उल्ट्याउने, संघीयता जसरी स्थापित छ त्यसलाई परिमार्जित नभइ त्यसलाई पनि उल्ट्याउन खोजिएको उनले दाबी गरे।

‘जसको नेतृत्वमा अहिले गठबन्धन बनेको छ हिजो संविधान मिच्ने र संसद विघटन गर्ने खतरा छ। लामो संघर्षबाट प्राप्त भएका उपलब्धीहरूमाथ प्रहार गर्ने खतरा छ,’ उनले भने।  
 

बुधबार ९ साउन २०८१ १०:५६ AM मा प्रकाशित

प्रतिक्रिया