फलेन्द्र बलम्पाकी मगर / दुबई
युएई, २४ जुन। वायु, जल र भूमिलाई जीवनको अभिन्न अंग मान्दै आएको प्रकृति पूजक मगर समुदायले नेपालको गण्डकीपारि १८ मगरात क्षेत्रमा बसोवास गर्ने मगर समुदायमा विशेष महत्वका साथ मनाइने भूम्या पर्व यस वर्ष पनि युएईमा भव्य रूपमा मनाउने भएको छ।
कार्यक्रम संयोजक उत्तम राना मगरका अनुसार भूम्या पर्व मगर समुदायको मौलिक धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्व हो। प्रकृतिप्रति कृतज्ञता प्रकट गर्दै भूमि, वन, जलस्रोत तथा सम्पूर्ण जीवजन्तुको संरक्षण र समृद्धिको कामना गर्दै यो पर्व मनाउने परम्परा रहिआएको छ। यस पर्वले मानव र प्रकृतिबीचको सहअस्तित्व र सद्भावलाई अझ बलियो बनाउने विश्वास गरिन्छ।
परम्परागत रूपमा गाउँका पुर्खा, भूमिदेवी तथा प्रकृतिका विभिन्न शक्तिहरूको पूजा–आराधना गरी राम्रो वर्षा, उब्जनी, सुख–समृद्धि र समुदायको कल्याणको कामना गर्ने चलन रहेको संयोजक राना मगरले जानकारी दिए। उनले गण्डकीपारिका १८ मगरात क्षेत्रमा बसोवास गर्ने मगर समुदायमा भूम्या पर्वलाई विशेष पर्वका रूपमा लिइने र यसले समुदायबीच आपसी सद्भाव, भाइचारा, एकता तथा सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने बताए।
विदेशमा रहेका मगर समुदायले पनि आफ्नो मौलिक भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले भूम्या पर्वलाई निरन्तर मनाउँदै आएका छन्। सोही क्रममा युएईमा कार्यरत प्रकृति पूजक मगर समुदायको आयोजनामा आगामी जुन २८ तारिख दुबईस्थित क्लब SK7 को सभाहलमा विविध सांस्कृतिक कार्यक्रमसहित भूम्या पर्व मनाइने भएको छ।
कार्यक्रम संयोजक उत्तम राना मगरले युएईमा रोजगारी तथा विभिन्न पेशा–व्यवसायमा संलग्न सम्पूर्ण प्रकृति पूजक समुदायलाई कार्यक्रममा उपस्थित भई पर्वलाई भव्य र सभ्य रूपमा सफल बनाउन आग्रह गरेका छन्। उनले भूम्या पर्व केवल धार्मिक आस्थासँग मात्र जोडिएको नभई प्रकृति संरक्षण, सांस्कृतिक पहिचान, आपसी एकता र भावी पुस्तालाई आफ्नो मौलिक संस्कृतिप्रति जागरूक बनाउने अभियानका रूपमा समेत रहेको बताए।
मगर समुदायले हरेक वर्ष असार महिनामा मनाउने भूम्या पर्वले प्रकृतिप्रतिको सम्मान, सामाजिक सद्भाव र सांस्कृतिक निरन्तरताको सन्देश प्रवाह गर्दै आएको विश्वास गरिन्छ। विदेशमा रहेर पनि आफ्नो मौलिक संस्कृतिलाई जीवन्त राख्ने उद्देश्यका साथ युएईस्थित मगर समुदायले यस पर्वलाई उत्साहपूर्वक मनाउने तयारी पूरा गरेको जनाएको छ।
प्रतिक्रिया