×

कथा- हाइफाइभ

images

सौभाग्य र उत्सुकता क्याफ्टेरियाको एउटा कर्नरमा छन् । अरू विद्यार्थी त्यहाँभन्दा अलि पर छन् । उनीहरूले बोलेको अरू विद्यार्थीले सुन्दैनन् अर्थात् सुन्न सक्दैनन् । त्यसैले उनीहरू निर्धक्क कुरा गर्दैछन् ।‘जतिखेर पनि घुरेर हेर्ने र बडीमा टच गर्ने तिम्रो बानीले म हैरान छु ।’ उत्सुकताले अलि रिसाएझैं गरी भनी । सौभाग्यले केही प्रतिक्रिया जनाएन । उत्सुकताको आँखामा हेरिरह्यो । 

‘साथीहरूको अगाडि तिमीले घुरेर हेर्दा वा टच गर्दा मलाई कस्तो अप्ठ्यारो लाग्छ ।’ उत्सुकताले सौभाग्यको हात समात्दै भनी । सौभाग्य बोलेन । अब के भन्ने भनेर उसको मनमा कुरै आएन । के भनूँ के भनूँ भएर उसले उत्सुकताको पाउदेखि शिरसम्म नियालेर हे¥यो । 

उत्सुकताले हाँस्दै भनी, ‘ओए, के हेरेको यसरी ?’

सौभाग्य गम्भीर भयो । निकै भावुक भएर भन्यो, ‘उत्सुकता, हरेक दिन एकपटक तिमीलाई नदेखेसम्म कहाँ देखूँ कहाँ देखूँ हुन्छ र कहाँ भेटूँ कहाँ भेटूँ हुन्छ । अनि भेटेपछि तिमीलाई छोइरहँुजस्तो लाग्छ । यस्तो किन हुन्छ ?’

उत्सुकताले सौभाग्यको हात सुम्सुम्याउँदै भनी, ‘यसैलाई त भन्छन् नि लभ ।’

‘के तिमीलाई पनि यस्तै हुन्छ ?’ सौभाग्यले उत्सुकताको मनको कुरा जान्न खोज्यो । तर उत्सुकता ‘म भन्दिनँ’ भन्दै त्यहाँबाट भागी । सौभाग्य उसको पछिपछि दौड्यो । ब्रेकपछिको अर्को क्लास सुरु भइसकेछ । क्लासको ढोका लागिसकेछ । उत्सुकताले विस्तारै ढोकामा नक् गरी । सरले ढोका खोल्नुभयो । सरले केही नबोली घडी देखाउनुभयो ।

‘सरी सर ।’ सौभाग्य र उत्सुकता दुवैले एकै स्वरमा भने । ‘अल्वेज सरी ! नेक्स्ट टाइम नो सरी । ओके ?’ अहिले भने सर कड्किनु भयो ।

‘ओके सर’ भन्दै दुवैजना भित्र पसे । अगाडिको सिट एउटा पनि खाली थिएन । त्यसैले दुवै जना सबैभन्दा पछाडिको सिटमा गएर बसे । पहिला उत्सुकता बसी । त्यसपछि ऊसँगै टाँस्सिएर सौभाग्य बस्यो । यसरी टाँस्सिँदा सौभाग्यलाई तातो महसुस भयो । उसलाई कताकता आनन्दजस्तो अनुभूति भयो । उसलाई यसैगरी उत्सुकतासँग टाँस्सिइरहूँजस्तो लाग्यो । 

सरले आफ्नो लेक्चर कन्टिन्यू गर्नुभयो । उत्सुकताको ध्यान सरको लेक्चरमा थियो । तर सौभाग्यको ध्यानचाहिँ उत्सुकतामा थियो । ऊ विस्तारै छड्के आँखाले उत्सुकतालाई हेर्दै थियो । उत्सुकताको आँखा भने अगाडि सरतिर केन्द्रित थियो । सायद उसले सौभाग्यले आफूलाई हेरिरहेको नै थाहा पाइन । 

उत्सुकताको कपालबाट मीठो बासना आइरहेको थियो । उसको शरीरबाट पनि उस्तै मीठो बासना आइरहेको थियो । यो बासनाले सौभाग्य लठ्ठिरहेको थियो । कुनै लठ्ठ्याउने वस्तु सुँघेजस्तो ऊ झन्झन् लठ्ठिँदै गयो । उसका आँखा पनि लठ्ठिन थाले । छातीभित्र कताकता उकुसमुकुसजस्तो हुन थाल्यो । उसलाई छटपटी पनि हुन थाल्यो । सरको लेक्चरमा उसको ध्यानै गएन । उसलाई क्लास कहिले सकिएलाजस्तो मात्रै लाग्न थाल्यो । उत्सुकतासँग टाँस्सिएर बस्दा यस्तो सधैं हुन्छ सौभाग्यलाई । 

यसैगरी दिनहरू बित्न थाले । तर दिन छोटो र रात लामोजस्तो । सौभाग्यले मनमनै सोच्यो – यो दिन कति छिट्टै बित्छ । तर रात किन लामो लाग्छ ? 

सौभाग्य बिहान सबेरै कलेजमा पुग्यो । अरू कोही आएका थिएनन् । उत्सकुता पनि आएकी थिइन । कलेजको क्याफ्टेरिया पनि खुलिसकेको थिएन । सौभाग्य क्याफ्टेरियाको ढोकामै उभिइरह्यो । क्याफ्टेरिया चलाउने संगम दाइ हाँस्दै आइपुगे । ‘सौभाग्य बाबु, कति चाँडै ?’ संगम दाइले हाँस्दै भने ।

सौभाग्यले हाँसेर टा¥यो । संगम दाइले कुरा बुझिहाले । उनी हाँस्दै क्याफ्टेरियाको ढोका खोलेर भित्र पसे । सौभाग्य पनि भित्र पस्यो । अब उसले उत्सुकतालाई पर्खन थाल्यो ।

उत्सुकता पनि सौभाग्यलाई खोज्दै क्याफ्टेरियामै आइपुगी । उत्सकुतालाई देख्नासाथ सौभाग्यको मन चंगा भयो । उत्सुकताले हात दिई । सौभाग्यले उसको हात समातेर आफूतिर तान्यो र उसको गालामा किस गर्न खोज्यो । 

‘नो.. ।’ सौभाग्यको हात रोक्दै उत्सुकताले भनी । सौभाग्यलाई यो मन परेन । ऊ रिसायो । रिसाउँदै ऊ नबोलीकन फटाफट क्याफ्टेरियाबाट बाहिरियो ।

उत्सुकता हतारहतार उसको पछिपछि दौडी । तर सौभाग्य नरोकी गयो । ऊ क्लासमा गएन । कलेजको गेटबाटै बाहिर गयो । उत्सुकता गेटमै रोकिई । उत्सुकता दोधारमा परी, सौभाग्यलाई बोलाउन जाऊँ कि क्लासमा जाऊँ ?

उत्सुकता क्लासमा गई । तर उसको मन सरको लेक्चरमा पटक्कै गएन । उसले सरको लेक्चर केही पनि सुनिन । सुने पनि केही बुझिन । उसको ध्यान सरको लेक्चरमा पटक्कै गएन । क्लासमा उसको उपस्थितिमात्रै भयो । उपलब्धि केही भएन । बरु सौभाग्यको साथ गुमेजस्तो पछुतो मात्रै लागिरह्यो उसलाई । 

अब उत्सुकतालाई पनि क्लासमा बसिरहन मन लागेन । उसलाई छटपटी हुन थाल्यो । ऊ यताउता हेर्न थाली । उसको यस्तो उद्विग्नता देखेर क्लासका साथीहरूले उसलाई अनौठोसित हेर्न थाले । उसलाई झन् अप्ठ्यारो लाग्न थाल्यो । ऊ जुरुक्क उठी र सरलाई ‘सरी सर’ भन्दै सरासर क्लासबाट बाहिर निस्की ।

उत्सुकता सौभाग्यलाई खोज्दै क्याफ्टेरियामा गई । तर ऊ त्यहाँ थिएन । ऊ बाहिरबाट आएकै रहेनछ । पक्कै सुशीला दिदीको रेस्टुराँमा होला । यस्तो सोच्दै उत्सुकता कलेजबाट बाहिर निस्की ।

सौभाग्य सुशीला दिदीको रेस्टुराँमै थियो । ऊ एक्लै थियो र सिगरेट तानिरहेको थियो । टेबुलमा बियरको क्यान पनि थियो । ‘ह्वाट आर यु डुइङ सौभाग्य ?’ सौभाग्यलाई देख्नासाथ उत्सुकता कराई । सौभाग्यको हातबाट सिगरेट थुतेर फ्याँकिदिई । ‘तिमीले राम्रो गरेनौ सौभाग्य । आ’म सो स्याड ।’ यसो भन्दै गर्दा उत्सुकतालाई रिस पनि उठ्यो । उसले आँखा तरेर सौभाग्यलाई हेरी ।

सौभाग्यले पनि रिसाएर भन्यो, ‘तिमी किन मेरो हरेक इच्छालाई इग्नोर गछ्र्यौ हँ ?’ 

‘सरी सौभाग्य । मैले तिम्रो इच्छालाई इग्नोर गरेको होइन । समयलाई ख्याल गरेको हो । तिमी जे कुरामा पनि हतारिन्छौ । समय र स्थानको पनि ख्याल गर्दैनौ । लभमा प्यासेन्स हुनुपर्छ सौभाग्य । धेरै पहिले कसैले भनेको थियो प्रेम अन्धो हुन्छ भनेर । तर हामीले प्रेमलाई अन्धो बनाउनु हुँदैन । आफैंलाई धोका हुन्छ ।’ उत्सुकताले सौभाग्यलाई सम्झाउने प्रयत्न गरी ।

‘अरूले पनि त किस गर्छन् । हग गर्छन् । बडीमा टच गर्छन् । लुकीलुकी सेक्सको मजा पनि लिन्छन् । अरूले त्यस्तो गर्न हुने हामीले नहुने ?’ सौभाग्य जंगियो ।
‘अरूको कुरा छोड सौभाग्य । हामी अरूजस्तो नहोऔं । अरूभन्दा फरक हुनु पो राम्रो । सबै उस्तै भए के राम्रो ? हेर, मेरो मनमा तिम्रो लागि कति माया छ, त्यो तिमीलाई के थाहा ।’ यसो भन्दै उत्सुकताले सौभाग्यलाई अँगालो हाली । 

‘सरी । म तिम्रो लेक्चर सुन्न चाहन्न ।’ सौभाग्यले रिसाएर उत्सुकताको हात हटायो । अलिकति पर स¥यो र भन्यो, ‘लभ विदाउट सेक्स, मलाई यस्तो स्वीकार्य छैन ।’
‘सेक्स विदाउट लभ, त्यो पनि त हुन सक्दैन नि सौभाग्य । इच्छा र सहमतिबिनाको सेक्सले लभलाई बढाउन सक्दैन । म चाहन्छु, हामी हाम्रो लभलाई अझै म्याच्युअर्ड हुन दिऔं । त्यसैले सेक्सका लागि हामीले अझै धेरै समय कुर्नुपर्छ । पहिला हामी हाम्रो पढाइ सकाऔं । त्यसपछि.... ।’ उत्सुकता बोल्दाबोल्दै रोकिई ।

‘भो, अब धेरै नबोल तिमी । म तिम्रो यस्तो लेक्चर सुन्न सक्दिनँ ।’ सौभाग्यले अलि बेवास्तापूर्वक भन्यो ।

‘सुन्नुपर्छ सौभाग्य । तिमीले मेरो कुरा सुन्नुपर्छ । तिमी प्रेममा एक कदम अगाडि हुने कुरा सोच्छौ । म हाम्रो पढाइमा एक कदम अगाडि हुने सोच्छु । यही फरक छ हामी दुईमा । यही एक कदमको भिन्नताले हाम्रो प्रेममा दरार आउला भन्ने चिन्ता लागिरहेछ मलाई । यो समयमा हामी पढाइमा एक कदम अगाडि हुनुपर्छ । बरु प्रेममा एक कदम पछाडि परेर केही हुन्न । पढाइ त एकदिन सकिन्छ, तर प्रेम त जीवन रहेसम्म गरिरहन पाउँछौं । त्यसैले त्यो एक कदम पढाइमा अगाडि सारौं सौभाग्य । त्यसपछि त....।’ भन्दाभन्दै रोकिई उत्सुकता । 

उत्सुकताको कुरै नसुनी हिँड्यो सौभाग्य । उत्सुकतालाई पनि रिस उठ्यो । ‘क्या ठिस केटाको फेला परिएछ ।’ उसले मनमनै भनी । तर उसलाई मनमा पीर पनि पर्न थाल्यो । ऊ पीर मान्दै सौभाग्यको पछि लाग्यो ।

सौभाग्य कहीं रोकिएन । ऊ क्लासमा पनि गएन । ऊ सिधै बाइक पार्किङमा गयो । आफ्नो बुलेट बाइक स्टार्ट ग¥यो र ठूलो आवाज निकाल्दै कलेजको गेटबाट बाहिर गयो । उत्सुकता हेरेको हे¥यै भई ।

‘रिसाएर हिँडेको छ । बाटोमा कतै एक्सिडेन्ट भयो भने ?’ उत्सुकताले मनमनै यस्तो सोची । अब उसलाई कलेजमा बस्न मन लागेन । ऊ पनि आफ्नो स्कुटी चढेर कलेजको गेटबाट बाहिर निस्कन खोजी । त्यही बेलामा उसका साथीहरू अभिमन्यू, मिराज, एमी र विभूतिसँग भेट भयो । 

उत्सुकता बाहिर जान लागेको देखेर उनीहरूले सोधे, ‘क्लासमा नबस्ने उत्सुकता ?’

उसलाई साथीहरूसँग बोल्न पनि मन लागेन । ‘सरी फ्रेन्ड्स ।’ यति भन्दै ऊ सरासर गेटबाट बाहिरिई । साथीहरूले अचम्मसित उसलाई हेरिरहे ।
उत्सुकताले बाटोभरि पनि सौभाग्यकै बारेमा सोचिरही । उसलाई लाग्यो अब सौभाग्य कलेज आउँदैन । ऊसँग बोल्दा पनि बोल्दैन । त्यसो हो भने उसको प्रेम अधुरो हुन्छ । ऊ एक्ली हुन्छे । त्यस्तो भयो भने कलेजमा साथीहरूले उसलाई गिज्याउने छन् । यस्तो सोच्दैसोच्दै ऊ घर पुगी ।

घर पुगेर सौभाग्यलाई फोन गरी । तर उसले फोन उठाएन । उत्सुकताको मनको पीर झन् बढ्यो । रिसको आवेगमा उसले गलत कदम चाल्यो भने.... ! उत्सुकताको मनमा शंका मडारिन थाल्यो । डर पनि लाग्न थाल्यो । उसकै कारण सौभाग्यले यस्तो ग¥यो र उस्तो ग¥यो भनेर हल्ला फैलियो भने ? उसले कसरी घरमा मुख देखाउनु ? कसरी समाजमा मुख देखाउनु ? कसरी कलेज जानु ? डरले काम्न थाली उत्सुकता ।

उत्सुकतालाई त्यसैत्यसै रिंगटा लागेजस्तो हुन थाल्यो । घर घुमेजस्तो लाग्न थाल्यो उसलाई । ऊ पलङमा पल्टी र आँखा चिम्म गरी । आँखा वरिपरि सौभाग्य नै घुम्न थाल्यो । ऊ फेरि जुरुक्क उठी । फेरि बसी । फेरि उठी । फेरि बसी । धेरै बेरसम्म यस्तो गरिरही ।

उत्सुकताको ममी आउनुभयो कोठामा । उत्सुकताको हालत देखेर ममी अत्तालिनुभयो । ‘के भयो छोरी तिमीलाई ? सन्चो भएन हो ?’ ममीले हत्तपत्त उत्सुकताको निधार छाम्नुभयो । निधार केही तातो भएको रहेछ । ज्वरो आएको भनेर ममीले सिटामोल खान दिनुभयो । तर उत्सुकताले खान मानिन । भनी, ‘ममी, मलाई केही भएको छैन । हल्का पढाइको टेन्सन भा’छ । त्यत्ति हो ।’

‘एकछिन् आराम गर छोरी । ठीक हुन्छ ।’ यति भनेर ममी जानुभयो ।

उत्सुकता रातभर निदाउन सकिन । हरेक पल उसलाई सौभाग्यकै याद आइरह्यो । सौभाग्य कहाँ होला ? के गर्दै होला ? भोलि कलेज आउँछ कि आउँदैन होला ? यस्तैयस्तै मात्र सोचिरही उत्सुकताले ।

उत्सुकता अरू दिनभन्दा छिट्टै कलेज पुगी । सौभाग्यलाई पर्खी । तर सौभाग्य आएन । उत्सुकतालाई एकदमै न्यास्रो लाग्यो । कलेजका त्यति धेरै विद्यार्थीहरूको भीडमा पनि उसले आफूलाई एक्लो महसुस गरी । उसलाई कसैसित बोल्न पनि मन लागेन । पढ्न पनि मन लागेन । क्लासमा बस्न पनि मन लागेन । 

उत्सुकता नपढीकन घर फर्की । ममीले सोध्नुभयो, ‘किन छिट्टै फर्केको ?’ उत्सुकताले कलेजमा प्रोग्राम भएकाले क्लास नभएको भनी । त्यसपछि ममीले थप केरकार गर्नुभएन । 

उत्सुकताले सौभाग्यलाई फोन गरी । तर सौभाग्यले फोन उठाएन । उत्सुकतालाई पीर पर्न थाल्यो । उत्सुकतालाई खान पनि मन लागेन । ममीले सोध्नुभयो, ‘किन नखाएको ?’ उत्सुकताले भनी, ‘कलेजमै हेभी ब्रेकफास्ट खाएर आएँ ।’ उत्सुकताले पहिलोचोटि ममीसँग झुटो बोली । झुटो बोलेकोमा उसलाई मनमनै पछुतो लाग्यो । 

अर्को दिन पनि सौभाग्य कलेज आएन । फेरि अर्को दिन पनि आएन । त्यसपछि उत्सुकताले मनमनै सोची, ‘सायद अब सौभाग्य कहिल्यै कलेज आउँदैन । तर मैले उसलाई सम्झेर आफ्नो कदम रोक्नु हुँदैन । जीवनमा यस्तो अवस्था धेरैचोटि भोग्नुपर्छ । यस्ता दुर्घटनाहरू पनि भइरहन्छन् । एउटै दुर्घटनाबाट तर्सेर बस्ने हो भने जीवन गतिहीन बन्छ र जीवनले लय गुमाउँछ । त्यसैले मैले आफ्नो कदम अगाडि बढाउनै पर्छ ।’

मनमा अनेकथरी कुरा खेलाउँदै उत्सुकता कलेज गई । कलेजमा थोरै विद्यार्थीमात्रै आइपुगेका थिए । कलेजको पार्किङमा स्कुटी पार्क गरेर ऊ सरासर आफ्नो क्लासमा गई । क्लासभित्र पस्नेबित्तिकै उत्सुकता चकित परी । क्लासमा सौभाग्य बसिरहेको थियो । 

‘हाई उत्सुकता ।’ सौभाग्यले निकै खुसी भएर भन्यो । सौभाग्यलाई देखेर उत्सुकताको मनमा खुसी छचल्किन थाल्यो । उसले आफूलाई रोक्नै सकिन । ऊ दौडेर गई र सौभाग्यलाई अँगालो हालेर उसको गालामा किस गर्न खोजी । तर सौभाग्यले उसलाई रोक्दै भन्यो, ‘बी प्यासेन्स उत्सुकता । लभमा प्यासेन्स चाहिन्छ ।’

सौभाग्यलाई हेर्दै उत्सुकता मुस्कुराई । उत्सुकतालाई हेर्दै सौभाग्य मुस्कुरायो । उनीहरूको प्रेम मुस्कुरायो । सौभाग्यलाई लाग्यो उसले केही पायो । उत्सुकतालाई लाग्यो उसले केही पाई । उत्सुकतालाई लाग्यो उसको जित भयो । सौभाग्यलाई लाग्यो उसको जित भयो । दुवै जनालाई लाग्यो उनीहरूको जित भयो । 

अनि उत्सुकताले मुस्कुराउँदै हात माथि उठाई । सौभाग्यले पनि मुस्कुराउँदै हात माथि उठायो । अनि दुवैले मुस्कुराउँदै एकआपसमा हत्केला जोडे र एकै स्वरमा भने, ‘हाइफाइभ ।’

शुक्रबार​ १२ फागुन २०७९ ०२:४४ PM मा प्रकाशित

प्रतिक्रिया