×
images

कविताः मधुपार्कको फोहर 

काठमाण्डौँ। 

कविताः मधुपार्कको फोहर

खाएर देशले अघाउन्जेल तिम्रो भाषण
छादिरहेछन् अहिले लासहरू ।
गरेर उपहास आस्थासँग पौडिरहेछन् अहिले 
फोहरमा एकजोडी काला हाँसहरू । 
झुक्नैको लागि, 
बढेर अग्ला हुन्छन् ती बाँसहरू । 
बढेर आफू वस्तुका आहारा बनिदिन्छन् ती घाँसहरू । 
तर, झिकेर एकजोर आँखा 
ठुसेर लुँडो बेवास्ताको प्यालाजत्रै कानमा । 
उखलेर प्रजातन्त्र ।
रोपेर गणतन्त्र ।
छर्छन् जङ्गलतन्त्रका काँडे बीजहरू 
उल्टै लगाउँछन् उनी 
त्यही सिंहासनमा बसी उठीबासहरू । 
थाके थापा । 
थाके केसी । 
सुन्छु, 
छैनन् अचेल इजलासमा ती दुवैका पेसी । 
इमान मान्छेका लाज हुन् 
स्वाभिमान देशका ताज हुन् 
तर उनी मुसा मार्न जानेका ब्याधा बाज हुन् । 
उनैका कुशबिर्ता । 
उनैका राज हुन् । 
उनैका बिहानी, उनैका साँझ हुन् । 
मैले बुझेको यत्ति हो, 
रङ्गिए भित्ता चारैतिर यहाँ श्रद्धाञ्जलीका चुनले । 
गुन्जी उठे कठै ! मेरो देश अहो ! 
शोकै शोकका धुनले । 
देख्दिनँ म कहीँ कतै मलामी ? 
ठोकिरहेछन् अझै यहाँ मुर्दाले मुर्दालाई सलामी । 
 

बस्दैनन् कोही अनशन अब भद्रकालीअघि 
डाक्टर बा बसेजस्तो । 
एक मुठी सासकै लागि लडिरहेछन् युद्ध 
जबसम्म ती अबोध सासहरू । 
भोककै विरुद्ध भोकहरूले नै बाल्नेछन् यहाँ 
जब अनशनका राँकोका जुलुसहरू । 
अहो ! 
सहिद भएछन् एकमुठी ती भासहरू । 
खाएर देशले अघाउन्जेल तिम्रो भाषण
छादिरहेछन् अहिले लासहरू ।
मधुपर्कको फोहर पोखरीमा पौडिरहेछन्
फोहरी एक जोडी काला ती हाँसहरू । 

शुक्रबार​ ८ पुस २०७९ ०५:३२ PM मा प्रकाशित

प्रतिक्रिया