काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं महाधिवेशनबाट विजयी डा.बद्री केसीको टिमसँग भेट गर्न प्रधानमन्त्री प्रचण्डले अस्वीकार गरेका छन् ।
केसीको टिमले प्रधानमन्त्री र परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्न चाहे पनि उनीहरू अनिच्छुक देखिएको बताइएको छ ।
एनआरएनए विजयी टिमलाई हालसम्म सरकारले मान्यतासमेत दिएको छैन । प्रधानमन्त्री लगायतका मन्त्रीहरू दशैं बिदा र अन्य कामको व्यस्तताले उक्त टिमसँग भेट गर्न नसकेको प्रधानमन्त्रीको सचिवालय बताउँछ ।
तर, गैरआवासीय नेपाली संघको विजयी केसीको टिमले उनीहरूले भेट नै गर्न नचाहेको अरोप लगाएको छ ।
केसीका प्रतिस्पर्धी आरके शर्मा टिमले भने प्रधानमन्त्रीसँग आइतबार नै भेटवार्ता गरेको छ । शर्माले केसीको टिमले धाँधली र सिस्टम ह्याक गरेर चुनावी परिणाम प्रभावित पारेको भन्दै समानान्तर समिति गठन गरेको छ ।
एनआरएनए विजयी केसी एमालेनिकट मानिन्छन् भने समानान्तर समिति गठन गरेका पराजित शर्मा माओवादी केन्द्रनिकट हुन् ।
प्रतिक्रिया